लिखुको ४ वडाको मालपोतको काम खिजिफलाटेबाट सुरु
ओखलढुङ्गान्युज, साउन ९ खिजिफलाटे । लिखु गाउँपालिकाका चार वटा वडाका नागरिकहरुले अबदेखी मालपोतको काम गर्न तीन जिल्ला घुमेर सदरमुकामसम्म धाउनु नपर्ने भएको छ । मालपोत सम्बन्धिका सम्पूर्ण काम ईलाका प्रशासन कार्यालय अन्तर्गत मालपोत कार्यालय खिजिफलाटेबाट सुरु भएसँगै मालपोतको कामका लागि जिल्ला सदरमुकामसम्म धाउनु पर्ने बाध्यता अब अन्त्य भएको छ ।
मालपोत कार्यालय खिजिफलाटेले एक सूचना जारी गर्दै अब देखी लिखु गाउँपालिका अन्तर्गत साविकका तिनवटा गाविस गाम्नाङटार, टारकेराबारी र पोकली (हाल चारवटा वडा) को मालपोत सम्बन्धिको सम्पूर्ण कामहरु खिजिफलाटेबाट सुरु भएको जनाएको छ । सूचनामा जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट साविकका तिनवटै गाविसका मालपोत सम्बन्धिका कागजात फाईल उपलब्ध भएकोले काम सुरु भएको जनाएको छ ।
मालपोतको काम खिजिफलाटेबाट सूरु भएसँगै अबदेखी लिखु गाउँपालिका अन्तर्गतका चारवटा वडाका नागरिकहरुलाई सहजता हुनेछ । मालपोत कार्यालय खिजिफलाटेबाट मालपोत सम्बन्धिका सम्पूर्ण कामहरु हुने भएपनि जग्गाको कित्ताकाट सम्बन्धिका कामका लागि भने जिल्ला सदरमुकाम नै धाउनु पर्नेछ ।