पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध, पहिरेमा पनि सडक अवरुद्ध
ओखलढुङ्गान्युज, साउन ४ ओखलढुङ्गा । साउन ३ गते शनिबार अपरान्नदेखि परेको अविरल पश्चातका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको सडक अवरुद्ध बनेको छ । सिद्धिचरण नगरपालिका अन्तर्गत पर्ने वार्ड नं ७ स्कुलडाँडा भन्ने स्थानमा सडकभन्दा माथिबाट आएको पहिरोको कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
बाटो अवरुद्ध भन्दा सोलुखुम्बुबाट ओखलढुङ्गा हुँदै काठमाडौँतर्फ जाने तथा ओखलढुङ्गा हुँदै सोलुखुम्बु तर्फ जाने सम्पूर्ण यातायातहरु बाटोमा रोकिएका छन् । पहिरोले बाटो अवरुद्ध हुँदा सिद्धिचरण नगरपालिका वडा नम्बर ६ र ७ बाट सदरमुकाम आउने तथा सदरमुकामबाट उक्त स्थानतर्फ जाने यातायातका साधनहरु पनि बाटामा रोकिएका छन् ।
अवरुद्ध बनेको सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय तथा सिद्धिचरण नगरपालिका कार्यालय ओखलढुङ्गासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
शनिबार बेलुकीदेखि नै परेको अविरल बरसातका कारण चिशंखुगढी गाउँपालिका वडा नम्बर २ को घिमिरेगाउँ घर्ती खोल्सा भन्ने स्थानमा समेत बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा सडकभन्दा माथिबाट लेदो आई बाटो अवरुद्ध हुँदा खानेभन्ज्याङ हुँदै ओखलढुङ्गा आउने सवारी साधनहरु समेत बाटामा नै रोकिएका छन् । उक्त बाटो खुलाउनका लागि चिशंखुगढी गाउँपालिका कार्यालयसँग समन्वय भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
उता मोलुङ गाउँपालिका वडा नम्बर २ को पहिरे खोलामा भने सडक अवरुद्ध जारी रहेको छ । अवरुद्ध सडकलाई खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।