नेपाली समय Loading...२०८२ श्रावण ३ शनिबार

ओखलढुङ्गामा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते 

ओखलढुङ्गान्युज, साउन १ ओखलढुङ्गा । बुधबार साँझ ओखलढुङ्गामा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ४ काकु घर भई हाल सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मिलनचोक बस्दै आएका टेकराज राईको ४ वर्षीय छोरी रियासा राई रहेकी छन् ।

बुधबार साँझ ८ बजेतिर सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको रमाइलो डाँडाबाट केतुके तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो । बालिकालाई ठक्कर दिएर मोटरसाइकल चालक मोटरसाइकल लिएर फरार रहेका थिए । घाइते बालिकालाई भने तत्काल उद्धार गरी अस्थायी प्रहरी पोस्ट मिलनचोकका प्रहरीको टोलीले सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचारका लागि पठाएको थियो ।  

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक फरार भएपश्चात तत्काल जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीको नेतृत्वमा २० जना प्रहरीको टोली खोजी कार्यमा सक्रिय भएको थियोे । खोजीका क्रममा प्रहरी नायब उपरीक्षक केसीको टोलीले बुधबार राति पौने १२ बजे सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अधेरी नारायणस्थानबाट घटनामा संलग्न बा ८३ प ८४८१ नम्बरको मोटरसाइकल र त्यसका चालक चिसंखुगढी गाउँपालिका वडा नम्बर ७ माम्खाका सबिन राईलाई पक्राउ गरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।