भडारे खोलाले बाटो बगाउदा चार जिल्लाको यातायात अबरुद्ध, पहिरेमा पनि बाटो अबरुद्ध
ओखलढुङ्गान्युज, असार ३१ मानेभञ्ज्याङ्ग । जिल्लामा चर्चाँमा रहेको सिद्धिचरण राजमार्गमा पर्ने भडारे खोलाले बाटो अबरुद्ध गर्दा चार जिल्लाका सवारी साधन बाटामा नै अलपत्र परेका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं। ६ र ७ को सिमानामा पर्ने भडारे खोलाले बाटो बगाउदा सिद्धिचरण राजमार्ग अन्तरगतको उक्त बाटो प्रयोग गरेर काठमाण्डौ भित्रिने तथा काठमाण्डौंबाट उक्त जिल्लाहरुमा आउने सवारीका साधनहरु बाटामा अलपत्र परेका हुन् ।
भडारे खोलाले बाटो बगाउदा उक्त सडक खण्ड प्रयोग गर्दै जिल्ला भित्रिने तथा बाहिरीने ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ तथा भोजपुर लगायतका सवारी साधनहरु राती देखि नै बाटामा अलपत्र अबस्थामा रहेका छन् । शोमबार बेलुकी देखी परेको अबिरल वर्षातका कारण भडारे खोलाले अन्दाजी १० मिटर सडक बगाएर अबरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । खोलाले खोल्सी बनाएर बाटो बगाउनुका साथै माथिपटिबाट लेदो सहितको बाढी र ढुङ्गा आएर सडक अबरुद्ध बनेको हो ।
अबरुद्ध सडकलाई डिभिजन सडक कार्यालय हर्कपुरसँगको सहकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अस्थाई मनसुन प्रतिकार्य बेश क्याम्प हर्कपुरको समन्वयमा मंगलबार विहान ७ बजेबाट सामान्य सूचारु गराउन सफल भएको प्रहरीले जनाएको छ । सामान्य पानी पर्दा पनि उक्त खोलाले पुन सडक अबरुद्ध गर्न सक्ने प्रहरीले जनाएको छ ।
पहिरे खोलाले बाटो निरन्तर अबरुद्ध !
वर्षातका कारण मोलुङ गाउँपालिका वडा नं। २ को भित्री सडक खण्डको ओखलढुङ्गा–रामपुर सडक खण्डको पहिरेले पनि पुन बाटो अबरुद्ध गरेको छ । पहिरेले दैनिक जसो बाटो अबरुद्ध गर्दा जिल्लाको पश्चिम तर्फको गाउँपालिका जाने तथा ती स्थानहरुबाट ओखलढुङ्गा जिल्ला सदरमुकाम भित्रिने सवारीका साधनहरु बाटामा नै अलपत्र परेका छन् ।
पहिरे खोलामा रहेको सडकको तलपटिबाट पहिरो गएर सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो । उक्त सडक खण्डलाई पनि खुलाउन मोलुङ गाउँपालिकासँग समन्वय भैरेहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।