अन्तरजातिय विवाह गर्ने जोडिलाई चिशंखुगढीको नगद १ लाख सहित सम्मान
ओखलढुङ्गान्युज, असार २८ शेर्ना । जिल्लाको चिशंखुगढी गाउँपालिकाले गाउँपालिका भित्र रहेर अन्तरजातिय विवाह गर्ने आफ्ना गाउँपालिकाका नागरिकलाई नगद सहित सम्मान गरेको छ । शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर अन्तरजातिय विवाह गर्ने जोडीलाई नगद एकलाख सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा सम्बोधन गर्दै चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले समाजमा जातिय विभेद उन्मूलनका लागि दलित र गैह« दलित विचको विवाहले पनि महत्वपूर्ण स्थान ओगट्ने बताए । त्यसैले चिशंखुगढी गाउँपालिकाले “दलित र गैर दलित बीच हुने अन्तर्जातीय विवाह प्रोत्साहन सम्बन्धी कार्यविधि, २०८१”अनुसार उनीहरुलाई नगद सहित सम्मान गरिएको बताए ।
सम्बोधनका क्रममा अध्यक्ष शर्माले समाजमा जरा गाडेर रहेको जातिय विभेदलाई अन्त्य गर्ने गाउँपालिकाको यो एउटा सानो अंश मात्र भएको बताउदै जातिय विभेद अन्त्यका लागि समाजका हरेक नागरिकको चेतना परिवर्तन मुख्य कुरा रहेको बताए । गाउँपालिकाले कार्यविधि नै बनाएर लागू गरिसकेकोले यो कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत समाबेश भएको तथा आगामी दिनमा समेत निरन्तरता दिईने गाउँपालिका अध्यक्ष शर्माले बताए ।
गत मंशिर ८ गते चिशंखुगढी गाउँपालिका वडा नं. २ पोखरेका अनिल परियारले सिद्धिचरण नगरपालिका ११ की ईन्दिरा तामाङसँग विवाह गरेका थिए । अन्तरजातिय विवाह गर्ने जोडीलाई नगद सहित सम्मान गर्ने भनेर केहिदिन अगाडी गाउँपालिको सूचना जारी गरेको थियो । जारी सूचना अनुसार उक्त जोडीले मात्र गाउँपालिकामा आवेदन दिएका थिए । गाउँपालिकामा प्राप्त भएको आवेदन अनुसार उक्त जोडीलाई गाउँपालिकाले शुक्रबार नगद सहित सम्मान गरेको हो ।