भीषण बर्षातसँगै आएको पहिरोले ओखलढुङ्गाको बाटो अवरुद्ध
ओखलढुङ्गान्युज, असार २५ । मङ्गलबार साँझ अविरल वर्षातसँगै आएको भलबाढी र पहिरोले गर्दा ओखलढुङ्गाका बाटो अवरुद्ध भएका छन् ।
मङ्गलबार साँझ भीषण बर्षात पश्चात झरेको पहिरोले सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुङ्गा सोलुखुम्बु सडक खण्डको सडक मङ्गलबार साँझदेखि अवरुद्ध बनेको छ । उक्त राजमार्ग अन्तर्गत सिद्धिचरण नगरपालिका वडा नम्बर ७ चौतारा डाँडा भन्ने स्थानमा पहिरो खसी मोटरसाइकल समेत छिर्न नसक्ने गरी बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
त्यस्तै मङ्गलबार साँझ आएको भीषण बर्षातसँगै ओखलढुङ्गाबाट रामपुर हुँदै पश्चिमतिर जाने बाटो अवरुद्ध बनेका छन् । उक्त सडक खण्ड अन्तर्गत मोलुङ गाउँपालिका २ वरुणेश्वरको पहिरे खोला भन्ने स्थानमा सडकभन्दा मुनिबाट कटान भई मोटरसाइकल समेत छिर्न नसक्ने गरी बाटो अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
अवरुद्ध रहेका दुवै सडक खण्ड खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरेर बाटो खुलाउने प्रयास बुधबार बिहानैदेखि भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।