मोलुङ गाउँपालिका कार्यालयमा वडा अध्यक्षले लगाए ताला
ओखलढुङ्गान्युज, असार २४ प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिका कार्यालयमा आज वडा नं. १ कुन्तादेवीका वडा अध्यक्ष कमल बानियाले ताला लगाईदिएका छन् । गाउँपालिकाको कार्यालयमा पुगेर वडा अध्यक्ष बानियाले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लाईभ गर्दै कार्यालयमा ताला लगाईदिएका हुन् ।
चालु आर्थिक बर्षको भुक्तानी हुने असारको आज अन्तिम दिन । बर्षभरि विभिन्न योजनाको काम सकेर अन्तिम भुक्तानी लिनका लागि विभिन्न उपभोक्ता समितिका सदस्यहरुको कार्यालयमा भिड रहेको छ । कार्यालयमा काम भैरहेको बेलामा गत साउन महिना देखी वडाको विभिन्न काममा प्रधानमन्त्री रोजगार कार्याक्रममा सूचिकृत भएका युवाहरुलाई दिनु पर्ने ६ लाख भन्दा बढी रकम पालिकाका कर्मचारीले भुक्तानी गर्न नमानेको भन्दै कर्मचारीलाई कार्यालयबाट बाहिर निकालिदिएर कार्यालयको काममा अबरोध गरेका हुन् ।
कार्यालयको काममा अबरोध भएर कर्मचारी बाहिरीएपछि कामको अन्तिम भुक्तानी लिन कार्यालयमा आएका सेवाग्राही अलपत्र परेका छन् । आफुले काम लगाएको वडा नं. १ को भुक्तानी नदिएसम्म कार्यालयको ताला नखोल्ने तथा खोलेर कर्मचारी कार्यालयमा प्रबेश गर्न खोजे दुर्घटना हुनसक्ने भन्दै सामाजिक सञ्जाल मार्फत वडा अध्यक्ष बानियाले चेतावनी समेत दिएका छन् ।
कार्यालयमा काम अबरुद्ध भएको विषयमा गाउँपालिका अध्यक्ष उत्तम राईले भने कार्यालयको सेवा अबरुद्ध गरेर मात्र समस्याको समाधान नहुने बताए । गाउँपालिकाको केहि योजना तथा कार्यक्रमहरुमा केहि प्राबिधिक कर्मचारी र जनप्रतिनिधीको पनि समस्या हुँदा भुक्तानीमा केहि समस्या भएको स्वीकार गरे । त्यसका लागि पनि छलफल भैसकेको र कामको आधारमा सम्बन्धित व्यक्ति तथा उपभोक्ता समितिले पाउनुपर्ने भुक्तानी गाउँपालिकाले नरोक्ने बताए । कामको शिलशिलामा आफू जिल्ला बाहिर भएको बताउदै अध्यक्ष राईले वडा अध्यक्ष बानियाले उठाएको विषय ठूलो नभएको भन्दै समाधान हुने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओशो कर्णले भने वडा अध्यक्ष स्वयम्ले कार्यालयको काममा अबरोध गर्नु राम्रो नभएको बताए । गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वयनका क्रममा सबै खर्च हुने नभई प्राबिधिक स्टामेट अनुसार खर्च हुने र सोहि अनुसार गाउँपालिकाले भुक्तानी गरिरहेको प्रमुख प्रशासकिय अधिकृत कर्णले बताए । प्राबिधिक स्टामेट विना भएको खर्च तथा वडा अध्यक्षले भने अनुसार गाउँपालिकाले सबै भुक्तानी गर्न भने नसकिने समेत कर्णले स्पष्ट पारे ।
कार्यालयको काम अबरोध बनेपछि छलफलका लागि अहिले वडा नं. ८ का वडा अध्यक्ष सुधिर राईको नेतृत्वमा छलफल गरेर समस्या समाधान गर्न भनेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । यस आर्थिक वर्षमा मोलुङ गाउँपालिकाले जिल्लामा अन्य गाउँपालिकाको तुलनामा दुईदिन अगाडी नै बजेट, नीति तथा कार्यक्रम ल्याएर पास गरेको थियो । बजेट, नीति तथा कार्यक्रम पास गरेपछि अहिले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष दुवैजना जिल्ला बाहिर रहेका छन् ।