एसईईमा श्री मावि प्रथम, पालिकाको आधारभूत तहमा राकाथुमको दबदबा
ओखलढुङ्गान्युज, असार २२ राकाथुम । शैक्षिक सत्र २०८१ को नतिजामा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका १ राकाथुममा रहेको श्री मावि राकाथुम उत्कृष्ट बन्दै नगद पुरस्कार सहित पुरस्कृत भएको छ । खाँडादेवी गाउँपालिकाले गाउँपालिकामा शनिवार आयोजना गरेको कार्यक्रममा श्री मावि नगद रु २ लाख सहित पुरस्कृत बनेको हो ।

आधारभूत तह कक्षा परीक्षा कक्षा ८ तर्फ प्रथम बन्न सफल विद्यालय श्री मावि राकाथुम
शैक्षिक सत्र २०८१ मा गाउँपालिकाको आधारभूत तह तर्फ वडा नं. १ राकाथुममा रहेका विद्यालयहरुले दबदबा कायम गरेका छन् । उक्त शैक्षिक सत्रमा सञ्चालन भएको आधारभूत तह कक्षा परीक्षा (कक्षा ८) मा प्रथम बन्दै श्री मावि राकाथुमले नगद रु १ लाख, बागेश्वरी आ.वि. राकाथुमले ९० हजार र वडा नं. ८ को कालिकादेवी आवि गागल तेश्रो बन्दै नगद रु ७५ हजार सहित पुरस्कृत बनेको छ । राकाथुम स्रोत केन्द्र अन्तर्गत कक्षा १–५ तर्फ पनि राकाथुम कै गोपी आधारभूत विद्यालय प्रथम बन्न सफल बनेको छ ।

आधारभूत तह कक्षा परीक्षा कक्षा ८ तर्फ दोस्रो बन्न सफल बागेश्वरी आवि राकाथुम
एसईईमा जिल्ला कै प्रथम
शैक्षिक सत्र २०८१ मा सञ्चालन भएको माद्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट जिपीए सहित खाँडादेवी गाउँपालिका १ राकाथुमको श्री मावि राकाथुम प्रथम बन्न सफल बनेको छ । एसईईमा साधारण धार तर्फ विद्यालयले ३.५४ जीपीए अंक प्राप्त गर्दै रामेछाप जिल्ला कै प्रथम बन्न सफल बनेको हो । शैक्षिक सत्र २०८१ मा श्री मावि राकाथुमबाट सहभागी भएका ३७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी १४ जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने विद्यार्थी २० जना र २.८ देखि ३.२ जीपीएसम्म ल्याउने विद्यार्थी एक जना रहेका छन् ।
त्यस्तै प्राविधिक धार तर्फ भने रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा रहेको डहु मावि प्रथम बनेको छ । डहु माविले ३.७४ जीपीए प्राप्त गर्दै रामेछाप जिल्ला कै प्रथम बन्न सफल बनेको हो ।
गाउँपालिकामा रहेका विद्यालयहरु मध्ये आफ्नो वडामा रहेका विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत बनेपछि खुशी ब्यक्त गर्दै वडा अध्यक्ष राम कुमार श्रेष्ठले सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा विद्यालय ब्यबस्थापन समिति परिवारलाई धन्यवाद ब्यक्त गरे । वडा अध्यक्ष श्रेष्ठ स्थानीय निर्वाचन २०७९ मा खाँडादेवी गाउँपालिका वडा नं. १ राकाथुममा नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार बनि निर्वाचित बनेका वडा अध्यक्ष हुन् ।
पुरस्कृत बनेका विद्यालय तथा शिक्षकहरूलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङ तथा उपस्थित वडा अध्यक्षहरूले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा सहभागी श्री मावि राकाथुमका विद्यार्थीहरू