करको विवरण प्रविष्ट गर्ने तालिम चाहियो- ब्यापार ब्यावसायी
ओखलढुङ्गान्युज, असार २० । ओखलढुङ्गामा रहेका उद्योगी, ब्याबसायी, ब्यापारीका प्रतिनिधिहरुले करको विवरण प्रविष्ट गर्ने तालिमको माग गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुङ्गाले आज ओखलढुङ्गामा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरुले सम्बन्धित निकायमा दर्ता भएर व्यावसाय सञ्चालन गर्दा पनि ब्यबसाय नविकरण तथा कर तिर्ने बेलामा विवरण प्रविष्ट गर्न नसक्दा दुःख झेल्नु परेको बताएका थिए । ब्यावसायी आफैले विवरण प्रविष्ट गर्ने शीप र ज्ञान पाए सहजता हुने बताए । त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर ओखलढुङ्गामा तालिम सन्चालन गर्ने करदाता सेवा कार्यालय ओखलढुङ्गाका अधिकृत अरविन रानाभाटले प्रतिबद्धता जनाए ।
अन्तरक्रिया कार्यक्रममा ब्यावसायी प्रतिनिधिहरुले वन ऐनको समस्याका कारण फर्निचर उद्योग दर्ता गर्न नसकेको भन्दै समस्या समाधानका लागि आवश्यक समन्वय गरिदिने समेत सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । त्यस्तै जिल्लाका दुर दराजमा रहेका ब्यावसायीले सानो कर तिर्न समेत ठुलो खर्च गरेर जिल्लासम्म धाउनुपर्ने सास्ती भएको भन्दै घुम्ती सेवाका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ओखलढुङ्गा प्रमुख मोहनराज भट्टराईले आफ्नो कार्यलयले एक बर्षमा प्रदान गरेका सेवाका बारेमा प्रस्तुती राखेका थिए । त्यस्तै करदाता सेवा कार्यालय ओखलढुङ्गाका प्रमुख कर अधिकृत अरविन रानाभाटले करदाता सेवा कार्यालय ओखलढुङ्गाले प्रदान गर्ने सेवा तथा ब्यावसायीहरुले बुझाउनु पर्ने करका अबस्थाका बारेमा प्रस्तुती राखेका थिए ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय ओखलढुङ्गाका प्रमुख मोहनराज भट्टराईले गरेका थिए भने सञ्चालन लेखा प्रमुख बालकृष्ण श्रेष्ठले गरेका थिए ।