नेपाली समय Loading...२०८२ असार १९ बिहीबार

लिखुको मुद्धा सर्वोच्चद्वारा खारेज, भवन पुरानो स्थानमा नै

ओखलढुङ्गान्युज, असार १९ यसम लिखु गाउँपालिकाको भवन निर्माण सम्बन्धिको विवादका बारेमा सर्बोच्च अदालतमा परेको मुद्धालाई सर्बोच्च अदालतले बुधबार खारेज गरेको छ । अदालतले मुद्धा खारेज गरेसँगै गाउँपालिकाको भवन लिखु गाउँपालिका वडा नं. ४ को चुवाडाँडा (हाल गाउँपालिकाको कार्यालय रहेको) भन्ने स्थानमा नै बनाउन बाटो खुलेको छ ।

निर्माणाधिन लिखु गाउँपालिकाको प्रशासकिय भवन

लिखु गाउँपालिकाको प्रशासकिय भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा लामोसमय देखि विवाद हुदै आएको थियो । वर्तमान कार्यालय रहेको स्थानमा जग्गा अपुग भएको भन्दै तत्कालीन गाउँपालिका अध्यक्ष गोविन्द पौडेल रहदा वडा नं. ५ मा स्थानीयसँग १० रोपनी भन्दा बढी जग्गा गाउँपालिकाले खरिद गरेको थियो । जग्गा खरिद गरेको भएपनि तत्कालीन कार्यापालिकाको बैठकले समयमा नै प्रशासकिय भवन वडा नं. ५ मा गाउँपालिकाले खरिद गरेको स्थानमा बनाउने भन्ने बारेमा निर्णय नगराउँदा समस्या भएको थियो । 

स्थानीयसँग गाउँपालिकाको प्रशासकिय भवन बनाउन भन्दै कम मूल्यमा जग्गा खरिद गरेर गाउँपालिका भवन भने चुवाडाँडामा नै निमाण गर्न लागेको भन्दै वडा नं. ५ का स्थानीयले गाउँपालिकाको विरुद्धमा उच्च अदालत विराटनगर, अस्थायी ईजलास ओखलढुङ्गामा मुद्धा दर्ता गरेका थिए । मुद्धामा लामो छलफल पश्चात गत बैशाख १६ गते उच्च अदालतले गाउँपालिकाको पक्षमा फैसला गर्दै वर्तमान कार्यालय रहेको चुवाडाँडामा नै भवन निर्माण गर्न पाउने गरि मुद्धाको फैसला गरेको थियो ।

उच्च अदालतको फैसलासँगै गाउँपालिकाले नयाँ प्रशासकिय भवनका लागि बैशाख २६ गते शिलान्यास गरेर निर्माण कार्य सुरु गरेको छ । भवन निर्माण कार्य सुरु भएपछि पुनः गाउँपालिकाले आफ्नो स्थाई संरचना भत्काएर भवन निर्माण गर्न लागेको भन्दै अदालतमा मुद्धा परेको थियो । उक्त मुद्धालाई पनि अदालतले खारेज गरिदियो ।

अब बन्न लागेको लिखु गाउँपालिकाको नयाँ प्रशासकिय भवन

उच्च अदालतको फैसला चित्त नबुझेपछि उजुरीकर्ताहरु शिलान्यास भएर निर्माण कार्य सुरु भैसकेको भवनको निर्माण कार्य रोक्नुपर्ने तथा गाउँपालिकाले एक स्थानमा नाम देखाएर अर्को स्थानमा भवन निर्माण गर्न लागेको भन्दै मुद्धा लिएर सर्बोच्चमा पुगेका थिए । सर्बोच्चले उक्त मुद्धाको बारेमा छलफलका लागि जेठ २८ गते बोलाएको थियो । उक्त दिन मुद्धाको विषयमा छलफल नभएपछि असार ८ गते छलफलमा बोलाएको थियो । छलफल पश्चात असार १८ गते बुधबार सर्बोच्च अदालतका माननिय न्यायधिशद्वय शारङ्गा सुवेदी र टेक प्रसाद ढुङ्गानाको संयुक्त ईजलासले मुद्धा खारेज गरिदिएको लिखु गाउँपालिकाका प्रबक्ता एवम् लिखु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिए ।

लिखु गाउँपालिकाको नयाँ प्रशासकिय भवनको निर्माण कार्य समेत सुरुवात भैसकेको छ । नयाँ प्रशासकिय भवनका लागि ठेकेदार कम्पनी आरोहण विल्डर्सले ४ करोड, ३२ लाख ७७ हजार ६ सय ५३ रुपैया ५२ पैसामा ठेक्का पाएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमको ६० प्रतिशत तथा लिखु गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण हुने उक्त भवन दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरि ठेकदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।