लिखु गाउँपालिकालाई “साक्षर गाउँपालिका” घोषणा
ओखलढुङ्गान्युज, असार १६ यसम । जिल्लाको लिखु गाउँपालिकालाई साक्षर गाँउपालिका घोषणा गरिएको छ । आज लिखु गाउँपालिकाको यसममा आयोजित एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराइले लिखु गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेका हुन् ।
ओखलढुङ्गा जिल्लाका आठ स्थानीय तह मध्ये साक्षर गाउँपालिका घोषणा भएको लिखु गाउँपालिका आठौं गाउँपालिका हो । यस अगाडी नै जिल्लाका एक नगरपालिका सहित सातओटै स्थानीय तहहरु साक्षर गाउँपालिका घोषित भैसकेका छन् । अब लिखु गाउँपालिका पनि साक्षर गाउँपालिका घोषित भएसँगै ओखलढुङ्गा जिल्ला साक्षर जिल्ला बनेको छ ।
पूर्ण साक्षर गाउँपालिका सम्बन्धी कार्यबिधि २०७५ अनुसार लिखु गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको लिखु गाउँपालिकाका शिक्षा शाखा प्रमुख रचना मैनालीले बताईन् । कार्यबिधि अनुसार १५ देखी ६० बर्ष उमेर समूहका नागरिक १०० प्रतिशत साक्षर भएको अबस्थामा गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका र ९५ प्रतिशत भन्दा माथि साक्षर भएको अबस्थामा गाउँपालिकालाई साक्षर गाउँपलिका घोषणा गरिने उल्लेख रहेको शिक्षा शाखा प्रमुख मैनालीले बताईन् ।
कार्यबिधी अनुसार अहिले लिखु गाउँपालिकाका १५ देखी ६० बर्ष उमेर समूहका ९५.५४ प्रतिशत नागरिक साक्षर रहेका छन् । उक्त उमेर समूहका ४.४६ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी छन् । गाउँपालिकाले गत जेठ १२ देखी ३१ गते सम्म पालिकाका ७ वडाहरुमा आठ जना स्वयम्सेवक परिचालन गरि साक्षरताको अबस्थाका बारेमा सर्वेक्षण गरेको थियो । सर्बेक्षणले उक्त रिपोर्ट देखाएपछि गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको मैनालीको भनाई छ ।
साक्षर गाउँपालिका घोषणा गर्न संघिय शशर्त बजेटबाट २ लाख रकम विनियोजन भएको मैनालीको भनाई छ । ४.४६ प्रतिशत नागरिकलाई साक्षर बनाउन आगामी आर्थिक वर्षमा गाउँपलिकाले कार्यक्रम सञ्चालन गरि अर्को बर्ष लिखु गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका घोषणा गराउने योजना रहेको मैनालीले बताईन् ।
रातारात लिखु गाउँपालिका साक्षर घोषणा ?
लिखु गाउँपालिकाले आईतबार अबेर गाउँपालिकाको पेजमा सूचना प्रकाशित गर्दै शोमबार नै गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको प्रति नागरिकहरुले भने प्रश्न गरेका छन् । नागरिकहरुले भनेका छन्, “रातारात गाउँपालिकालाई साक्षर भएको घोषणा गर्नै पर्ने के बाध्यता रहेछ ?”
रातारात साक्षर गाउँपालिकाको घोषणाको विषयमा गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले भने कार्यक्रमका बारे छलफल भएपनि पालिकाको तर्फवाट सूचना सम्प्रेषणको बारेमा जानकारी नभएको बताए । उता प्रमुख प्रशासकिय अधिकृत अर्जुन कुमार राउतले भने गाउँपालिका साक्षर घोषणा गर्ने बारेमा जिम्मेवारी र समन्वय जिल्ला समन्वय समिति र जिल्ला शिक्षा ईकाईको भएको बताए । गाउँपालिकाले जिल्ला समन्वय समितिले दिएको निर्देशन अनुसार काम गरेर सूचक पूरा गरेको र समन्वयको काम मात्र गरेको बताए । पालिकाको तर्फबाट सूचना प्रकाशित गर्न भने केहि ढिला भएको स्विकार गरे ।
गाउँपालिकाले आईतबार राती पालिकाको पेजमा सूचना सार्वजनिक गर्दै शोमबार विहान नै साक्षर गाउँपालिका भएको घोषणा गरेको हो ।