जन्मदिन मनाउँदै श्रेष्ठले दिए शहरी स्वास्थ्य केन्द्रलाई विरामी बेड
ओखलढुङ्गान्युज, असार १५ ओखलढुङ्गा । हरेक वर्ष मानिसको एकदिन जन्मदिन आउँछ। आफ्नो जन्मदिनलाई मानिसले विभिन्न तरिकाले मनाउँछन् । जन्मदिन भन्दै कतिले भोज र पार्टीको नाममा लाखौं रुपैयाँ हावामा उडाइरहेका हुन्छन् ।
जन्मदिन मनाउने क्रममा सानादेखि उमेरले ठूला मानिसले समेत विभिन्न तरिकाले आफ्नो जन्मोत्सव मनाउने गर्छन् । जन्मोत्सव मनाउन कतिले बिनासित्तीको पार्टी र भोज गर्छन् । कतिले सरसफाई कार्यक्रम गर्छन् । कतिपयले विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति र पोशाक स्टेशनरी वितरण गर्छन् । कतिले रोगी बिरामीहरूलाई फलफुल वितरण गर्दै सहयोग गर्छन् । कतिपयले सार्वजनिक संघसंस्थालाई सामग्री समेत हस्तान्तरण गर्छन् ।
आफ्नो जन्मदिन विशेष बनाउने क्रममा ओखलढुङ्गाका समाजसेवी बालकृष्ण श्रेष्ठले भने शहरी स्वास्थ्य केन्द्र सिद्धिचरण नगरपालिका ५ सानीटारलाई २ वटा विरामी बेड हस्तान्तरण गरेका छन् । सिद्धिचरण नगरपालिका ११, रामबजारका समाजसेवी श्रेष्ठले स्वास्थ्य केन्द्रका प्रमुख हिमाल दाहाललाई सानिटारमा नै पुगेर बेड हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठले भने,“जन्मदिनलाई रमाइलोमा मात्र सीमित राख्नुहुन्न, समाजका लागि केही योगदान पनि गर्नुपर्छ भन्ने भावनाले बेड सहयोग गरेको हो ।” मानिस जन्मिएपछि केही गर्नुपर्छ भन्ने भावना अनुसार आफ्नो जन्मदिनमा सामाजिक उत्तरदायित्व वहन गर्दै शहरी स्वास्थ्य केन्द्र सानीटारलाई उक्त बेड हस्तान्तरण गरेको श्रेष्ठको भनाई छ ।
समाजसेवी श्रेष्ठ विगतदेखि नै सामाजिक, धार्मिक तथा मानविय सेवामा सक्रिय रहँदै आएका छन् । उनले यस अगाडि पनि स्वर्गीय पितृहरूको नाममा तथा आफ्नो जन्मदिनको अवसर पारेर समेत विभिन्न संघसंस्था तथा समूहहरूलाई सहयोग गर्दै आएका छन् । श्रेष्ठको असार १४ गते जन्मदिन हो ।