नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

एसईई ओखलढुङ्गा रेकर्ड ब्रेक : सनराइजका विशाल र जाल्पाकी प्रज्ञा जिल्लामै सर्वोत्कृष्ट

ओखलढुङ्गान्युज, असार १४ ओखलढुङ्गा । माध्यमिक शिक्षा परीक्षा एसइइको शुक्रबार प्रकाशन भएको नतिजा अनुसार ओखलढुङ्गाका दुई विद्यालयले रेकर्ड ब्रेक गरेका छन् । विगतका वर्षहरूमा जिल्लामा रहेका अन्य विद्यालयले राखेको रेकर्डलाई संस्थागत विद्यालयतर्फ सनराइज बोर्डिङ स्कुल रुम्जाटार र सामुदायीक तर्फ जाल्पा मावि गैरी गाउँले यसपटक रेकर्ड ब्रेक गरेको हो ।

शुक्रबार सार्वजनिक भएको एसइइको नतिजामा सामुदायिक विद्यालयतर्फ रुम्जाटारमा रहेको सनराइज इंलिस बोर्डिङ स्कुल रुम्जाटारका विशाल शर्मा जिल्लामै सर्वोत्कृष्ट हुँदै नयाँ रेकर्ड कायम गरेका छन् । सार्वजनिक भएको नतिजा अनुसार शर्माले ३.९१ जिपिए ल्याएर सर्वोत्कृष्ट भएका हुन् । त्यस्तै सामुदायिक विद्यालयतर्फ जाल्पा मावि गैरीगाउँकी छात्रा प्रज्ञा काफ्ले सर्वोत्कृष्ट बनेकी छन् । काफ्लेले ३.८५ जिपिए प्राप्त गरेकी छन् । 

शुक्रबार सार्वजनिक नतिजा अनुसार ओखलढुङ्गा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा एसइइ २०८१ मा जिल्लामा कुल २ हजार ३५ विद्यार्थी सहभागी भएकोमा १ हजार ६ सय ५१ उतिर्ण भएका छन भने ३ सय ८४ विद्यार्थी नन् ग्रेडेड रहेकाे जिल्ला शिक्षा इकाइ ओखलढुङ्गाले जनाएको छ । 

शिक्षा इकाई ओखलढुङ्गाका अनुसार ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी १ सय २२ जना छन् भने ३.२० देखि ३.६० जिपिए ५ सय ४७ जना रहेका छन् । त्यस्तै २.८० देखि ३.२० जिपिए ल्याउने विद्यार्थी संख्या ६ सय ४१ भने २.४० देखि २.८० जिपिए ल्याउनेको विद्यार्थीको संख्या ३ सय १३ जना रहेको छ । यस्तै २ जिपिए देखि २.४० जिपिए ल्याउने विद्यार्थीको संख्या भने २८ जना रहेको इकाइले जनाएको छ । 

ओखलढुङ्गा जिल्लामा यसपटक ८१.१३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । यसभन्दा अगाडि जिल्लामा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यालयको सूचीमा लालीगुराँस इङ्गलिस बोर्डिङ स्कुल, सगरमाथा जनता मावि, वरुणेश्वर मावि रामपुर तथा ग्रामोदय युगकवि सिद्धिचरण मावि गामनाङटारको नाममा रहेको थियो ।