नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

ओखलढुङ्गामा बस दुर्घटना हुँदा चालक घाइते

ओखलढुङ्गान्युज, असार ११ ओखलढुङ्गा । जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा बसका चालक दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २४ का सरोज फुयल रहेका छन् ।

काठमाडौँबाट मङ्गलबार चिसङ्खुगढी आएर रिटेलमा बसेको अरनिको यातायातको बा ५ ख ९५०५ नम्बरको बस दुर्घटनामा परेको हो । मङ्गलबार चिसङ्खुगढी आएको उक्त बसलाई सफा गर्नका लागि चालकले बुधबार बिहान चिसङ्खुगढी गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने खानीभन्ज्याङको कर्कले पानी भन्ने स्थानमा ल्याएका थिए । बस ल्याउने क्रममा अचानक स्टार्ट बन्द भएको थियो ।

बसको स्टार्ट नै बन्द भएपछि स्थानीय युवाहरूलाई पछाडिबाट धकेल्न लगाई चालकले बस अगाडि बढाउन खोजेका थिए । बसलाई धकेल्ने क्रममा स्टेरिङ अचानक लक भएपछि बस सडकबाट १०० मिटर तल खसेको थियो । बस सडकबाट खसेपछि बसभित्र रहेका चालक फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।

घाइते चालकलाई उद्धार गरी उपचारको लागि जिल्ला सदरमुकाम स्थित सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।