ओखलढुङ्गामा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते
ओखलढुङ्गान्युज, असार ११ ओखलढुङ्गा । मोटरसाइकलले ठक्कर दिँदा ओखलढुङ्गामा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सिद्धिचरण नगरपालिका वार्ड नं ८ सल्लेरीकी ४४ बर्षिया मिना कुमारी तामाङ रहेकी छन् ।
शारीरिक अपाङ्गता समेत भएकी तामाङलाई हटिया बजार नजिकै रहेको मायरा होटल अगाडी बुधबार विहान ९:१५ बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो । तामाङलाई ठक्कर दिएपछि मोटरसाइकल सहित चालक फरार भएका छन् । घाइते महिलालाई सिद्धिचरण नगरपालिकाको समन्वयमा उपचार गरिएको छ ।
घटना भएको करिब एक घण्टा पश्चात मात्र प्रहरीलाइ सूचना भएको कारण घटनामा संलग्न मोटरसाइकलको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख मदन केसीले जानकारी दिए । घटनाको बारेमा जानकारी पनि ढिला प्राप्त भएको र नगरपालिकाका विभिन्न स्थानहरूमा राखिएको सिसिटिभीले काम नगर्दा घटनामा संलग्न मोटरसाइकल चालकको पहिचान हुन नसकेको प्रहरी प्रमुख केसीको भनाई छ ।
प्रहरीको समन्वयमा सिद्धिचरण नगरपालिकाले लाखौं रुपैयाँ खर्च गरेर बजारका बिभिन्न क्षेत्रहरुमा राखेको सिसिटिभी चट्याङ लगायतका कारणले विग्रिएका छन् । सिसिटिभीले काम नगर्दा सदरमुकाम बजार क्षेत्रमा सुरक्षा जोखिम बढेको छ ।