मानेभन्ज्याङमा ढाका बुनाई अपग्रेडिङ तालिम सम्पन्न
ओखलढुङ्गान्युज, असार १० मानेभञ्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा महिलाहरूको लागि ४५ दिने ढाका बुनाई तालिम सम्पन्न भएको छ । तालिमको सोमबार एक औपचारिक कार्यक्रमका बीच मानेभन्ज्याङ गाउँपालिकामा समापन गरिएको हो ।
तालिममा मानेभन्ज्याङ गाउँपालिकाका १० जना महिलाहरू सहभागी रहेका थिए । ढाका कपडा बुनाईका आधारभूत तालिम प्राप्त गरी व्यवसाय गरिरहेका उनीहरूलाई अपग्रेडिङ तालिम दिइएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश लेखा अधिकृत बालकृष्ण श्रेष्ठले तालिमको समापन गरेका हुन् ।
तालिम समापन कार्यक्रममा सहभागीहरूलाई शुभकामना दिँदै लेखा अधिकृत श्रेष्ठले सम्पन्न भएको तालिमले महिलाहरूलाई थप शिप विकास हुनुका साथै आयआर्जनमा टेवा पुग्ने बताए । कार्यक्रमका सभाध्यक्ष मानेभन्ज्याङ गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष रामकुमार राईले तालिममा सहभागी भएका महिलाहरूले उत्पादन गरेको सामग्रीले बजार नपाएमा गाउँपालिकाले बजारसम्म पुर्याइदिन समन्वय गरिदिने प्रतिबद्धता जनाएका थिए । तालिम व्यवसायिक तथा शिप विकास तालिम केन्द्र ओखलढुङ्गाको आर्थिक तथा प्राविधिक सहयोगमा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ को समन्वयमा सञ्चालन भएको हो।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानहरूमा विभिन्न प्रकारका सिपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।