बनाउदा बनाउदै भाचियो मन्थलीको निर्माणाधिन मोटरेवल पक्की पुल

निर्माणाधिन अबस्थामा नै भाँचिएको तामाकोशी नदि माथिको मन्थलीको मोटरेवल पुल । तस्विर ः सामाजिक सञ्जाल
ओखलढुङ्गान्युज, असार ८ मन्थली । रामेछाप जिल्लाको मन्थलीमा तामाकोशी नदी माथि निर्माण हुदै गरेको मोटरेवल पक्की पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने निर्माणाधीन पक्की पुल आइतबार दिउँसो भाँचिएको हो ।
आगामी भदौ महिनामा सम्पन्न गर्ने गरि तिव्रताका साथ निर्माण भैरहेको उक्त पुलको ढलानको रड तान्ने क्रममा गत बैशाख महिनामा एउटा स्पान भाँचिएको थियो । स्पान भाँचिएपछि उक्त पुल मर्मत गरेर प्रयोगमा ल्याउन सकिन्छ वा पुरै निर्माण गर्नुपर्ने हो भन्ने बारेमा प्राबिधिक अनुगमनका लागि एउटा समिति निर्माण भएको थियो ।
प्राबिधिक समितिले भाँचिएको स्पानलाई मर्मत पश्चात प्रयोगमा ल्याउन सकिने भनेर प्रतिवेदन दिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो । स्पानको मर्मत गरिरहेको बेला आइतवार दिउसो पुलको स्पान एक्कासी पुरै भाँचिएर भुईमा झरेको छ ।
गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएको हो भन्ने बारेमा खोजी हुनेपर्नेमा स्थानीयले जोड दिएका छन् । पुल भत्किएको विषयमा निर्वाचित जनप्रतिनिधी तथा राजनितीक दलका नेताहरु भने मौन रहेका छन् ।
सडक विभागले आर्थिक वर्ष २०७७र७८ मा कूल २२ करोड ५५ लाख चार हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चार वटा स्पानसहित कूल दुई सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो । कूल सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् ।