नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

ओखलढुङ्गामा बस दुर्घटना हुँदा चारजना घाइते

ओखलढुङ्गान्युज, असार ४ ओखलढुङ्गा । ओखलढुङ्गा जिल्ला सदरमुकाम नजिकै सिद्धिचरण नगरपालिका वडा नम्बर ८ जरङ्गेमा आज बस दुर्घटना भएको छ । बस दुर्घटना परि त्यसमा सवार चारजना घाइते भएका छन् ।

काठमाडौँबाट सोलुखुम्बुको लागि छुटेको बा.प्र.-०१-००६ख ५५८१ नम्बरको बस दुर्घटना हुँदा गाडीका सहचालक सहित त्यसमा सवार चार जना घाइते भएका हुन् । घाइते हुनेमा चम्पादेवी गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय कुमारीमाया बुढाथोकी, बसका सहचालक मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ३ उबुका बिनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीका २८ वर्षीय रोशन गिरी र सुनकोशी गाउँपालिका वडा नं १ बलखुका ४२ वर्षीय सहदेव गिरी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

सोलु खुम्बुतर्फ जाँदै गरेको उक्त गाडी उक्त स्थानमा आइपुग्नासाथ दिउँसो १ बजे अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । बस दुर्घटना भएपछि बसका चालक भने फरार रहेका छन् ।

बस दुर्घटना हुनासाथ स्थानीयवासीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी घाइतेहरुलाई जिल्ला सदरमुकामको रमाइलो डाँडामा रहेको मेडिका पोलिक्लिनिकमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले मेडिका पोलिक्लिनिकमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।