नेपाली समय Loading...२०८२ असार ३ मंगलवार

रेणुका श्रेष्ठको बाल कविता सङ्ग्रह ‘भावनाका लहरहरू’ लोकार्पण


ओखलढुङ्गान्युज, असार २ काठमाडौं । शनिवार ओखलढुङ्गाकी कवयित्री रेणुका श्रेष्ठको बाल कविताहरुको संग्रह ‘भावनाका लहरहरू’ लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले एक कार्यक्रमका बिच कृतिको लोकार्पण गरेका हुन् ।

बालकविता संग्रह लोकार्पण गर्दै प्राज्ञ धमलाले समाज विविधताको सौन्दर्य रहेको बताउँदै ‘भावनाका लहरहरू’ कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको बताए । ‘भावनाका लहरहरू’ कृति समाजका साहित्यिक, सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको समेत कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ धमलाको भनाई थियो ।बालकविता संग्रह बालबालिकाका लागि उपयोगी, सरल र सटीक रहेको बताउँदै कवयित्री श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए ।

समारोहका सभाध्यक्ष तथा भावनाका लहरहरू बालकविता सङ्ग्रहका सर्जक रेणुका श्रेष्ठले आफूले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताइन् । श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ तथा उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव तथा प्रेरणाले कविता लेखनको थालनी गरेकोसमेत बताइन् ।

समारोहमा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी तथा गोपाल भित्रीकोटीले शुभकामना मन्तव्य राखेका थिए । कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् । शिक्षण पेसामा आबद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो ।