नेपाली समय Loading...२०८२ असार १ आईतवार

सुनकोशीको मूलखर्कमा एक महिलाको लडेर मृत्यु 

ओखलढुङ्गान्युज, असार १ मूलखर्क । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ५ मूलखर्कमा एक महिलाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका वडा नम्बर ९ ककनीका ४५ वर्षीय गञ्जीमाया तामाङ रहेका छन् 

ककनी घर भएपनि मृतक तामाङ लामो समयदेखि सुनकोशी गाउँपालिका वडा नम्बर ५ मूलखर्कमा आफ्नै छोरीको घरमा बस्दै आएकी थिईन् । मृतक तामाङ शनिबार दिउँसो ३ बजे तिर बजार जान्छु भनेर निस्किएकी थिइन् । तर अबेरसम्म पनि घर नफर्किएपछि छोरीको परिवारले उनको खोजी गरेको थियो । खोजी गर्ने क्रममा छोरीको घरबाट करिब ५०० मिटर तल बाटोबाट अन्दाजी ५०० मिटर नै तल खसेर घाइते भएको अवस्थामा फेला पारेका थिए ।

घाइते अवस्थामा फेला परेकी तामाङलाई स्थानीयले उद्धार गरी प्रहरीको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ लगेका थिए । घाइते तामाङलाई रुम्जाटार अस्पताल पुर्‍याइएको भए पनि आइतबार बिहान करिब ४ बजेतिर अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।

घटनाको बारेमा जानकारी प्राप्त भएपश्चात सबको कानुनी प्रक्रिया पूरा गराउनका लागि प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। घटनाको बारेमा अनुसन्धान सुरु गरिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।