लिखुमा धुपबत्ती बनाउने तालिम सम्पन्न
ओखलढुङ्गान्युज, जेठ ३१ यसम । लिखु गाउँपालिकाको यसममा धुपबत्ती बनाउने एक हप्ते तालिमको आज समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले तालिमको समापन गरेका हुन् ।
तालिमको समापनमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कार्कीले सिन्के धुप बनाउने तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । प्रत्येक दिन पूजाआजामा प्रयोग हुने सिन्की धुप खरिद गर्दा लाखौं रुपैयाँ बाहिरिरहेको अवस्थामा यो तालिम पश्चात लिखु गाउँपालिकाका महिलाहरूले उत्पादन गरेको सिन्की धुप यही खपत हुने र महिलाहरूको आम्दानीको स्रोत पनि हुने बताए । यहाँका महिलाहरूले उत्पादन गरेको सिन्की धुपलाई बाहिरी स्थानमा लगेर बिक्री वितरण गर्दा सिन्की धुप खरिद गर्न बाहिरिने रकम यही बच्ने साथै उनीहरूलाई आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने अध्यक्ष कार्कीले बताए ।
समापन कार्यक्रमका सभाध्यक्ष लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले पनि तालिममा सहभागी भएका महिला दिदीबहिनीहरूले उत्पादन गरेको सिन्की धुपलाई बजारीकरण गरिदिन गाउँपालिकाले सहयोग गर्ने बताइन् । तालिममा सहभागीहरूले सिन्की धुप बनाउन मेसिनको पनि आवश्यकता भएको र त्यसको लगानी महँगो भएकोले किन्न नसकिने बताएका थिए । त्यसलाई पनि सम्बोधन गर्दै उपाध्यक्ष थापाले व्यवसायिक बन्ने हो भने सिन्की धुप बनाउने मेसिन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर खरिद गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
एक हप्तादेखि चलेको तालिममा लिखु गाउँपालिकाका विभिन्न वडाका १६ जना महिलाहरूले सहभागिता जनाएका थिए । आर्थिक वर्ष २०८१-८२ मा नेपाल सरकारको उद्योग मन्त्रालयको महिला उद्यम शिप विकास कार्यक्रम अन्तर्गत लिखु गाउँपालिकाले तालिमको आयोजना गरेको हो ।