ओखलढुङ्गामा एक पुरुषको लडेर मृत्यु
ओखलढुङ्गान्युज, जेठ ३० ओखलढुङ्गा । ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ७ बिगुटार बस्ने अन्दाजी वर्ष ६० को लानुरी शेर्पा रहेका छन् ।
शेर्पा बिहिबार घरबाट मोलुङ गाउँपालिका ८ सखरे भन्ने ठाउँमा आफ्नो आफन्तको मरी मराउमा गएका थिए । मरी मरौमा गएर बिहीबार बेलुका अबेरसम्म पनि नआएको भनी आफन्तले खबर गरे पश्चात शेर्पाको खोजी गरिएको थियो । स्थानीयले खोजी गर्ने क्रममा बिहिबार बेलुका ९ बजे सिद्धिचरण नगरपालिका वडा नं ७ सरसेपु भन्ने ठाउँको सडकबाट लडी अन्दाजी २०० मिटर तल खोलामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
शेर्पा मृत फेला परे पश्चात स्थानीयले राति करिब साढे दश बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त भएपश्चात शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सबको पोस्टमार्टमका लागि रुम्जाटार पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
शबको पोस्टमार्टम पश्चात् परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।