ओखलढुङ्गामा मोटरसाइकल दुर्घटना, एकजनाको मुन्टो भाँचियो
ओखलढुङ्गान्युज, जेठ २९ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका वार्ड नं ५ बर्नालुमा दुईवटा विपरीत दिशाबाट आएका मोटरसाइकल दुर्घटनामा परेको छ । मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा सोही स्थानका २९ वर्षीय सुवास श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विजय कार्कीले जानकारी दिए । घाइते श्रेष्ठको मुन्टोको हड्डी भाँचिएको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
बिहिबार दिउँसो अपरान्न २ बजे सिद्धिचरण नगरपालिका वडा नम्बर ५ बर्णालुमा रुम्जाटार तर्फ जाँदै गरेको बा ४२ प ५७२८ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको प्र. १-०७-००१ प ००७४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको थियो । दुर्घटनामा बा ४२ प ५७२८ नम्बरको मोटरसाइकल चालक श्रेष्ठको मुन्टोको हड्डी भाँचिएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् घाइते श्रेष्ठलाई स्थानीयले उद्धार गरी उपचारका लागि तत्काल सामुदायिक अस्पताल मिसन सोब्रु ओखलढुङ्गामा पुर्याएका थिए । घाइते श्रेष्ठको मिसन अस्पतालमा उपचार हुन नसके पश्चात प्राथमिक उपचार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
दुर्घटनामा परेको अर्को मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा राखिएको प्रहरीले जनाएको छ ।