नेपाली समय Loading...२०८२ जेष्ठ ३० शुक्रबार

कोशी प्रदेश स्तरीय जुडोको उपाधि सोलुखुम्बुलाई, ओखलढुङ्गा तेस्रो 

ओखलढुङ्गान्युज, जेठ २८ विराटनगर । सोमबार सम्पन्न कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बु जिल्लाले जितेको छ । विभिन्न तौल प्रतिस्पर्धामा पाँच स्वर्ण पदकसहित सोलुखुम्बुले उपाधि जितेको हो । 

प्रतियोगिता जेठ २६ र २७ गते दुई दिन विराटनगर स्थित सहिद रङ्गशालामा सम्पन्न भएको हो । प्रतियोगितामा आयोजक विराट क्लब ४ स्वर्ण ३ रजत र चार काश्य पदक सहित दोस्रो बन्न सफल भयो भने ३ स्वर्ण जितेको ओखलढुङ्गा तेस्रो स्थान प्राप्त गरेको छ । 

त्यस्तै, प्रतियोगितामा सहभागिता जनाएको झापाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक, ताप्लेजुङले १ स्वर्ण र १ रजत, मोरङले ५ रजत र ८ कास्य प्राप्त गर्न सफल भएको थियो भने धनकुटाले २ रजत, पाँचथरले १ रजत र ३ कास्य र उदयपुरले ४ कास्य पदक प्राप्त गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी सोलुखुम्बुका नवीन तामाङ्ग र उत्कृष्ट महिला खेलाडी विराट कोशी क्लबकी रिया साह बनेको प्रतियोगिताकी संयोजक बिना बस्नेतले जानकारी दिइन् ।

प्रतियोगिताको समापन सत्रमा क्लबले १३ औँ साग गेम्समा स्वर्ण पदक जित्न सफल झापाकी देविका खड्का, तेस्रो र चौथो दक्षिण एशियाली खेलमा पदक प्राप्त विजेता काजी शेर्पा, पेरिस ओलम्पिकमा सहभागी खेलाडी पाँचथरकी मनिता श्रेष्ठ प्रधान र जुडो खेलका अन्तर्राष्ट्रिय निर्णायक ओखलढुङ्गाका सुर्यनारायण श्रेष्ठलाई सम्मान समेत गरेको थियो ।

प्रतियोगिता विराट कोशी जुडो क्लबको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको हो ।