टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु
ओखलढुङ्गान्युज, जेठ २७ खिजीफलाटे । ओखलढुङ्गामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ३ तनुवा बस्ने भविराज सुनुवारको श्रीमती वर्ष ४६ कि विष्णुमाया सुनुवार रहेकी छन् ।
आज दिउँसो मध्यान्न साढे १२ बजेतिर टर्च लाइटलाई मल्टिप्लगमा राखेर चार्ज गर्ने क्रममा मल्टिप्लगबाट अचानक करेन्ट प्रवाह भएर करेन्ट लाग्दा सुनुवारको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । सुनुवारको घटनास्थलमा नै मृत्यु भएको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
घटनाको बारेमा सोही वडाका वडा अध्यक्षले साढे २ बजे मात्र इलाका प्रहरी कार्यालय खिजीफलाटेमा जानकारी गराएका थिए । प्रहरीलाई जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
घटनाको बारेमा थप अनुसन्धान गर्न र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।