नेपाली समय Loading...२०८२ जेष्ठ २९ बिहीबार

कोशी प्रदेश राष्ट्रपति रनिङशिल्ड भलिबल ः ओखलढुङ्गा छात्र प्रथम, छात्रा दोश्रो

ओखलढुङ्गान्युज, जेठ २६ ओखलढुङ्गा कोशी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता समापन भएको छ । आज समापन भएको प्रतियोगितामा ओखलढुङ्गा जिल्ला भलिबलमा छात्र तर्फ प्रथम र छात्रा तर्फ भने दोश्रो बनेको छ ।

छात्र भलिबलमा प्रथम बन्न सफल ओखलढुङ्गाको टिम

आज सम्पन्न भएको खेलमा छात्र भलिवल तर्फ झापा जिल्लालाई सोझो ३–० को सेटमा पराजित गर्दै ओखलढुङ्गा जिल्ला प्रथम भएको छ । त्यस्तै छात्रा तर्फ भने मोरङ जिल्लासँग ३–० कै सोझो सेटमा पराजित हुँदै छात्राको टीम भने दोश्रो बन्न सफल बनेको छ ।

छात्रा भलिबलमा दोश्रो बन्न सफल ओखलढुङ्गाको टिम

भलिबल प्रतियोगितामा सफल बनेसँगै केन्द्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशको टीममा ओखलढुङ्गाबाट छात्र तर्फ एलिस तामाङ, सुमन माझी र उमेश श्रेष्ठ छनौटमा परेका छन् । त्यस्तै छात्रा तर्फ भने कोशी प्रदेशको टीममा ओखलढुङ्गाबाट अस्मिता थापा र उषा राई छनौटमा परेका छन् ।

छात्र कबड्डीमा दोश्रो बन्न सफल ओखलढुङ्गाको टिम

त्यस्तै कबड्डीमा छात्र तर्फ ओखलढुङ्गाको टिम दोश्रो बनेको छ । दोश्रो बनेसँगै कोशी प्रदेशको कबड्डी टिममा ओखलढुङ्गाबाट अशोक श्रेष्ठ, अशोक गुरुङ र युवराज श्रेष्ठ छनौटमा परेका छन् । छात्रा तर्फको कोशी प्रदेशको टीममा भने ओखलढुङ्गाकी संगीता राई मात्र छनौटमा परेकी छन् ।

८ सय मिटर दौडमा स्वर्ण पदक विजेता रम्झिना राई

त्यस्तै एथलेटिक्स तर्फ ८ सय मिटर दौडमा स्वर्ण पदक जितेकी रम्झिना राई र ज्याभलिङ थ्रोमा प्रथम भएकी तर रजत पदक प्राप्त गरेकी उमिता राई कोशी प्रदेशको टीममा छनौटमा परेका छन् ।

आज सम्पन्न भएको कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा ओखलढुङ्गा जिल्लाले छात्र भलिबलमा स्वर्ण, छात्रा भलिबलमा रजत, छात्राको ८ सय मिटर रनिङमा स्वर्ण, छात्र कबड्डीमा रजत, छात्राको ज्याबलिङ थ्रो मा रजत तथा छात्र ४ ईन्टु ४ सय मिटर रिले दौडमा कास्य पदक प्राप्त गरेको छ ।

जेठ २४ गतेबाट सुरु भएको कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको आज समापन भएको हो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता समापन सँगै कोशी प्रदेशको टीममा छनौटमा परेका खेलाडीहरुलाई केन्द्रिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन जानका लागि प्रमुख अतिथि कार्कीले शुभकामना दिदै विदाई गरेका छन् ।

राष्ट्रिय स्तरको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता जेठ २८ देखी काठमाण्डौंमा सञ्चालन हुनेछ ।