ओखलढुङ्गामा लिखु गाउँपालिकालाई जिल्लामै सबैभन्दा कम बजेट
ओखलढुङ्गान्युज, जेठ २६ ओखलढुङ्गा । आगामी आर्थिक वर्ष २०८२/८३ मा ओखलढुङ्गा जिल्लाका स्थानिय तहहरुले संघीय सरकारबाट २ अर्ब ८८ करोड २८ लाख अनुदान पाउने भएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुङ्गा जिल्लामा संघिय सरकारले समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरि उक्त अनुदान प्रदान गर्ने भएको हो ।
संघिय सरकारको तर्फवाट ओखलढुङ्गा जिल्लाका स्थानीय तहहरुले समानीकरण अनुदान ६८ करोड १० लाख, सशर्त अनुदान तर्फ १ अर्ब ९७ करोड ५० लाख, विशेष अनुदान तर्फ १४ करोड ६५ लाख र समपुरक अनुदान तर्फ ८ करोड ३ लाख अनुदान रकम प्राप्त गर्नेछन् । आठ स्थानीय तह मध्ये जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले ५४ करोड ५१ लाख रुपैया अनुदान बजेट प्राप्त गर्नेछ ।
नगरपालिका बाहेक यसपटक ओखलढुङ्गामा रहेका सात स्थानीय तह मध्ये लिखु गाउँपालिकाले सबैभन्दा कम र मानेभञ्ज्याङ्ग गाउँपालिकाले सबैभन्दा बढी अनुदान बजेट प्राप्त गरेको छ । सबैभन्दा कम बजेट प्राप्त गर्ने लिखु गाउँपालिकाले यसपटक २८ करोड ३४ लाख अनुदान बजेट प्राप्त गरेको छ । कम बजेट प्राप्त गर्ने पालिकाको दोश्रो नम्बरमा खिजिदेम्बा गाउँपालिका रहेको छ । खिजिदेम्बा गाउँपालिकाले यस पटक खिजिदेम्बा २८ करोड ५८ लाख मात्र अनुदान बजेट रकम पाएको छ । अन्य सबै गाउँपालिकाले ३० करोड भन्दा माथिको अनुदान बजेट रकम पाउनेछन् ।
गाउँपालिका तर्फ सबैभन्दा बढी अनुदान बजेट रकम प्राप्त गर्ने मानेभञ्ज्याङ्गले ३७ करोड १६ लाख पाएको छ । बढी अनुदान बजेट पाउने गाउँपालिकाको दोश्रो नम्बरमा मोलुङ गाउँपालिका रहेको छ । मोलुङले यसपटक ३६ करोड ३१ लाख रुपैया अनुदान बजेट प्राप्त गरेको छ । तेश्रो नम्बरमा सुनकोशी गाउँपालिका रहेको छ । सुनकोशीले ३५ करोड ९९ लाख अनुदान बजेट प्राप्त गरेको छ । त्यस्तै चिशंखुगढी गाउँपालिकाले ३४ करोड १७ लाख तथा चम्पादेवी गाउँपालिकाले ३३ करोड २२ लाख रुपैयाको अनुदान बजेट प्राप्त गरेको छ ।