नेपाली समय Loading...२०८२ जेष्ठ २९ बिहीबार

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

ओखलढुङ्गान्युज, जेठ २४ विराटनगर प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा करीब २ अर्ब लागतमा निर्माण भएको २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री  ओलीले  इच्छाशक्ती भए काम गर्न सकिन्छ भन्ने उदाहरण सांसद योगेन्द्र मण्डलले दिएको बताए । विकास अभियान्ताले, जागरण अभियान्ताले कस्तो काम गर्न सक्दा रहेछन् भन्ने नमुना बनेको प्रधानमन्त्री ओलीले बताए । जीवन विकास सामुदायिक अस्पताल निर्माणले सरकारको प्रयास बिना व्यक्तीगत र सामुदायिक प्रयासले पनि विकास हुन सक्दो रहेछ भन्ने उदाहरण देखाएको बताए ।

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने संस्थाको रुपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्षसमेत रहेका मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले बताए । अस्पतालले सहुलीयत दरमा नागरिकलाई सेवा प्रवाह गर्ने अध्यक्ष मण्डलको भनाई छ । जुनसकै लघुवित्तका सदस्यहरुले जीवन विकास अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउने उनको भनाई छ । २५ वर्षअघि देखेको अस्पताल सञ्चालन गर्ने सपना आज पुरा गर्न पाउँदा हर्सित भएको उनले बताए ।

तत्काल २०० बेड क्षमतामा सञ्चालित अस्पताललाई विस्तार गर्दै लैजाने अस्पताल सञ्चालक समिति सदस्य एवं जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै मण्डलले जीवन विकाससँग जोडिएका महिलाहरुसँगको आर्थिक कारोबार गर्दा संस्थाले गरेको मुनाफा अस्पतालको रुपमा नागरिकलाई नै फर्काएको बताए । एउटा कोठाबाट सुरु भएको २४ घण्टे क्लिनिकको विकसित रुप आजको अस्पताल भएको समेत मण्डलले बताए ।

गरिबीरहित नेपालको परिकल्पनासहित २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।