लिखुमा पन्चेबाजा बजाउने १० दिने तालिम सम्पन्न

ओखलढुङ्गान्युज, जेठ २० गाम्नाङटार । जिल्लाको लिखु गाउँपालिकामा पन्चेबाजा बजाउने १० दिने तालिम आज सम्पन्न भएको छ । तालिमको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले एक कार्यक्रमका बीच समापन गरेका हुन् ।
लिखु गाउँपालिकामा लिखु सांस्कृतिक कला केन्द्र स्थापना गर्ने उद्देश्यका साथ सुरुवात भएको पन्चेबाजा बजाउने तालिमको आज समापन गरिएको हो । तालिममा लिखु गाउँपालिका वडा नम्बर ६ खाल्टेका झण्डै डेढ दर्जन महिला तथा पुरुषले सहभागिता जनाएका थिए । तालिममा सिन्धुली कलाघरका कलाकारहरूले सहजीकरण गरेका थिए ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै लिखु गाउँपालिकाका अध्यक्ष कार्कीले पन्चेबाजा बजाउने काम दर्जी समुदायको मात्रै भएको बुझेको बताए । तर यहाँको तालिममा भने दर्जी बाहेकका माथिल्लो भनाउँदाको जातका नागरिकहरू पनि सहभागी भएकोमा अध्यक्ष कार्कीले अचम्म प्रकट गर्दै खुसी साटे । यो तालिम सम्पन्न भएसँगै पन्चेबाजा अन्य जातजातिले बजाउनु हुँदैन भन्ने संस्कार अन्त्य भएको समेत बताए ।
आफूले नबुझेका कारण कलाकारिताको क्षेत्रमा विनियोजन गरेको बजेटलाई विषयान्तर गरेको बताए । यो तालिमको समापनको क्षणमा महिला दिदीबहिनीहरूको उत्कृष्ट सहभागितामा भव्य रुपमा तालिम सम्पन्न भएको देखेपछि आगामी आर्थिक वर्षमा भने बजेट लाई पुन विनियोजन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता अध्यक्ष कार्कीले गरेका थिए ।
सिन्धुली कलाघरका कलाकर्मीहरूको कलालाई देखेर लिखु गाउँपालिका ओखलढुङ्गामा पनि सांस्कृतिक कला केन्द्र स्थापना गर्ने उद्देश्यका साथ आफू लागि परेको र केही हदसम्म सफल पनि भएको लिखु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिए । सांस्कृतिक कला केन्द्र स्थापना गर्ने अभियानमा विभिन्न व्यक्तित्वहरूले सामग्री दिएर हौसला प्रदान गरेको भन्दै सबै सहयोगी मनहरूप्रति अध्यक्ष मगरले धन्यवाद समेत व्यक्त गरे ।
पन्चेबाजा बजाउनका लागि प्रयोग हुने सम्पूर्ण बाजाका सेटहरूलाई सहयोगी दाताहरुले सामग्री नै सहयोग गरेका छन् । सामग्री प्राप्त भएपनि तालिम सञ्चालनका लागि भने अध्यक्ष मगरले आफू अध्यक्ष मात्र नभएर समाजसेवी पनि भएकोले व्यक्तिगत लगानी गरेको बताए ।
पछिल्लो समय शुभ कार्यहरूमा प्रयोग हुने पन्चेबाजा बजाउने कला लोप हुँदै गर्दा खाल्टेमा भने अध्यक्ष मगरले अभियान नै सञ्चालन गरेर तालिम सम्पन्न गरेका हुन् । तालिममा स्थानीय विभिन्न जातजातिका महिला दिदीबहिनीहरूको उत्कृष्ट सहभागिता भएपश्चात पन्चेबाजाको संरक्षण हुने आशा पलाएको अध्यक्ष मगरले बताए । आगामी दिनमा कला केन्द्रको आफ्नै भवन स्थापना गरेर कला केन्द्रलाई दर्ता समेत गराई अगाडि बढाउने योजना रहेको अध्यक्ष मगरले जानकारी दिए ।
कार्यक्रमको समापन सँगै प्रशिक्षणको लागि उपस्थित भएका सिन्धुली कलाघरका प्रशिक्षक चेलीहरुलाई सहभागि तथा आयोजकको तर्फबाट भव्य सम्मानका साथ विदाई समेत गरिएको थियो ।