लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि लिखुले सहकार्य गर्ने
ओखलढुङ्गान्युज, जेठ १६ यसम । लिखु गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सहकार्य गर्ने भएको छ । विहिबार लिखु गाउँपालिकाको सभाहलमा सम्पन्न भएको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य समन्वय बैठकमा लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले यस्तो बताएका हुन् ।
बैठकमा गाउँपालिका अध्यक्ष कार्कीले कार्यक्रमका लागि अघिल्लो वर्षहरुमा गाउँपालिकाको तर्फबाट केहि बजेट विनियोजन गरिएको भएपनि कार्यक्रम कार्यान्वयन हुन नसक्दा बजेट फ्रिज हुन पुगेका बताए । विगतका कमजोरीलाई सच्याउदै आगामी आर्थिक बर्षमा भने समयमा नै कार्यक्रम कार्यान्वयन गर्नेगरि बजेटको समेत ब्यबस्था गर्ने अध्यक्ष कार्कीले प्रतिबद्धता जनाए ।
बैठकमा जिल्ला समन्वय समिति ओखलढुङ्गाका उपप्रमुख तारा कार्कीले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमका लागि सबै गाउँपालिकामा उपप्रमुखको महत्वपूर्ण भूमिका रहने बताईन् । तर गाउँपालिका उपाध्यक्षहरुले निर्वाचित भएपछि नागरिक प्रति जिम्मेवारी रहनुभन्दा पनि पार्टीको काम प्रतिमात्र जिम्मेवारी बनेर दौडधुप गर्दा गाउँपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धि कार्यक्रम प्रभावित बनेको बताईन् ।
बैठकमा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले कतिपय विषयमा नजर अन्दाज गर्दा समस्या हुने गरेको बताईन् । आफूलाई समस्या परेपछि मात्र खोजीमा लाग्ने समस्या लिखुमा पनि रहेकोले आगामी आर्थिक वर्षदेखि लिखु गाउँपालिकाले ओसीएमसी र सेफ हाउससँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
बैठक लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीको अध्यक्षता तथा जिल्ला समन्वय समिति ओखलढुङ्गाकी उपप्रमुख तारा कार्कीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा सेफ हाउसकी प्रतिनिधी पेमडोमा शेर्पाले सेफहाउसबाट सेवा लिने लिखुका सेवाग्राही र तिनको अबस्था तथा सेफहासका बारेमा जानकारी समेत गराएकी थिईन् । बैठकले जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको सेफ हाउसलाई निरन्तरता दिन गाउँपालिकाको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्ने समेत निर्णय भएको छ ।