नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

रुख ढाल्ने क्रममा रुखले किचेर ओखलढुङ्गामा दुइ घाइते

ओखलढुङ्गान्युज, जेठ १३ कटुन्जे । जिल्लाको सुनकोशी गाउँपालिकामा रुख ढाल्ने क्रममा ढालेको रुखले किचेर दुईजना घाइते भएका छन् । सुनकोशी गाउँपालिका वडा नम्बर १० कटुन्जेमा रुख ढाल्ने क्रममा लडेको रुखले अर्को रुखलाई लडाउँदा रुखले किचेर दुईजना घाइते भएका हुन् ।

घाइते लोकनाथ अधिकारी ट्रमा सेन्टरमा 

घाइते हुनेहरूमा सुनकोशी गाउँपालिका वडा नम्बर १० कटुन्जेका अन्दाजी ७३ वर्षीय हेमबहादुर खत्री र सोही स्थानका अन्दाजी ५२ वर्षीय लोकनाथ अधिकारी रहेका छन । मङ्गलबार दिउँसो हेमबहादुर खत्रीको पाखामा रहेको रुख लडाएको हेर्न अधिकारी पनि पुगेका थिए । 

रुख ढाल्ने क्रममा लडेको रुखले खत्रीलाइ लाग्न लाग्यो भन्दै अधिकारीले बचाउन पुगेका थिए । खत्रीलाइ बचाउने क्रममा लडेको रुखले दुवै जनालाइ किचेर घाईते भएको कटुन्जे माविका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले जानकारी दिए । प्रधानाध्यापक पुडासैनीका अनुसार घाइते खत्रीको अहिले ओखलढुङ्गाको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था जटिल देखिए पश्चात अधिकारीलाई भने हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ । 

घाइते अधिकारीको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिएको छ ।