पत्रकारिता पुरस्कारमा भागबण्डा नगर्न समाजवादी प्रेस संगठनको ध्यानाकर्षण
ओखलढुङ्गान्युज, जेठ १२ विराटनगर । कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न समाजवादी प्रेस संगठनले ध्यानाकर्षण गराएको छ । समाजवादी प्रेस संगठन कोशीले आइतबार कोशी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई आइतबार ज्ञापन-पत्र बुझाउँदै संगठनले पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो । संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई समेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको हो ।
संगठनले अहिले विभिन्न क्षेत्रमा विकृति र विसङ्गति मौलाइरहेको अवस्थामा सञ्चार क्षेत्र पनि यसबाट अछुतो नरहेको बताएको छ । प्रदेश सरकारले सञ्चार क्षेत्र सुदृढ बनाउने नाममा बजेट विनियोजन गरेको तर त्यो बजेट उद्देश्यअनुसार प्रयोग नहुनु, बिचौलिया र निकटस्थहरूको मिलेमतोमा खर्च हुनुले बजेट पारदर्शितामाथि प्रश्न उठाएको संगठनको भनाइ छ । यसले नागरिकको करबाट सञ्चित राजस्वको अपमान समेत गरेको संगठनको ठहर छ ।
संगठनको ज्ञापन पत्र बुझ्दै मन्त्रालयका सचिव आचार्यले सरकारले प्रदान गर्ने पुरस्कार निश्चित मापदण्डका आधारमा हुनुपर्ने तथा विकृतिहरु रोक्नुपर्ने संगठनको मागलाई प्रदेश सरकारले गम्भीर रुपमा लिने बताएका छन् ।