रामेछापको खाँडादेवीमा शब बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ घाइते
ओखलढुङ्गान्युज, जेठ ८ रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परी त्यसमा सवार ३ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परेको एम्बुलेन्स
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स खाँडादेवी गाउँपालिका वडा नं. ३ चारघरे जङ्गलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । सूचना अधिकारी प्रहरी निरीक्षक न्यौपानेका अनुसार बिहिबार दिउँसो उक्त एम्बुलेन्स दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको एम्बुलेन्स सडकबाट झन्डै सय मिटर तल खसेको छ । दुर्घटनामा दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ का २४ वर्षीय सुरेश मगर, वडा नं. २ का ४१ वर्षीय नारायण बहादुर नेपाली र सोही स्थानका ५३ वर्षीय दिल बहादुर दमाई घाइते भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका मध्ये नेपाली र दमाईं लाई थप उपचारको लागी धुलिखेल अस्पताल पठाइएको छ । घाइते मगरको भने स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।