“मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ” –मुख्यमन्त्री कार्की

फायल फोटा
ओखलढुङ्गान्युज, जेठ ७ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को बुधबार दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प तथा आगलागी जोखिम न्यूनिकरण पूर्वअभ्यासको अवसरमा यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका नकारात्मक असर तथा विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका हुँदा विपद् व्यवस्थापनको ठूलो जोखिम रहेको धारणा ब्यक्त गरे । मुख्यमन्त्री कार्कीले स्थानीय निकाय, राष्ट्र सेवक कर्मचारी र सुरक्षा निकायका लागि विपद् न्यूनिकरण गर्ने कार्य पहिलो चुनौती रहेको भन्दै विगत पाँच/सात वर्षको आफ्नो अनुभवबाट यो देखिएको बताए ।
मुख्यमन्त्री कार्कीले विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखि जोखिम व्यवस्थापन गर्नुपर्ने बताउँदै राहत उद्धारमा नागरिकले अनुभूति गर्ने गरी कार्य गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले नीति र कानुनको निर्माण गरि विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व वोध गर्दै सचेतना कार्यक्रम, साधन स्रोतको व्यवस्था गर्ने पनि बताए ।
उक्त दुई दिने अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता रहेको छ ।