नेपाली समय Loading...२०८२ जेष्ठ ८ बिहीबार

सुनकोशी र चम्पादेवीमा ग्रामिण आँखा केन्द्र स्थापना

सुनकोशीको मूलखर्कमा ग्रामिण आँखा केन्द्र उद्घाटन कार्यक्रम

ओखलढुङ्गान्युज, जेठ ७ ओखलढुङ्गा ।  जिल्लाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिकामा ग्रामिण आँखा केन्द्रको स्थापना गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाको समन्वयमा चम्पादेवी गाँउपालिकाको पलापु र सुनकोशी गाँउपालिकाको मूलखर्कमा ग्रामिण आँखा केन्द्रको स्थापना गरि सञ्चालनमा ल्याईएको हो ।

तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाको लामो प्रयास पश्चात जनशक्तिको ब्यबस्थापन गरिएको थियो । आवश्यक जनशक्तिको ब्यबस्थापन भएसँगै उनीहरुलाई तालिम समेत प्रदान गरिएको थियो । तालिम सम्पन्न भएसँगै ती दुवै स्थानीय तहमा आवश्यक भौतिक संरचनाको निर्माण तथा आवश्यक औषधी र चश्माको व्यबस्थापन भएपछि सामुदायीक आँखा केन्द्रको स्थापना गरि सञ्चालनमा ल्याईएको जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुङ्गाकी प्रमुख टिका राईले जानकारी दिईन् ।

चम्पादेवीको पलापुमा ग्रामिण आँखा केन्द्र उद्घाटन कार्यक्रम

ग्रामिण आँखा केन्द्रबाट आँखासम्बन्धी स–साना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध हुनेछ । गाउँमा नै नागरिकलाई सर्बसु्लभ ढंगले आँखासम्बन्धी सेवा उपलब्ध गराउने उद्धेश्यका साथ ग्रामिण आँखा केन्द्रको स्थापना गरिएको राईको भनाई छ ।

सुनकोशी तथा चम्पादेवी गाँउपालिकामा स्थापना गरिएको यी आँखा केन्द्रबाट नागरिकको आँखाको नियामित रुपमा परिक्षण, दृष्टि कमजोरी पहिचान, मोतियाबिन्दु जाँच, औषधीपचार, परामर्श तथा आवश्यक परेमा रेफर सेवा समेत प्रदान गरिने छ । यस भन्दा अगाडी जिल्लाको खिजीदेम्बा, लिखु, मानेञ्ज्याङ र चिशंखुगढी गाउँपालिकामा ग्रामीण सामुदायीक आँखा केन्द्र सञ्चालनमा भइसकेका छन् ।

चम्पादेवी गाँउपालिकाको पलापु स्वास्थ्य चौकीमा सोमबार जिल्लाको पाँचौँ केन्द्रको रुपमा तथा मंगलबार मूलखर्कमा छैंठौं केन्द्र स्थापना गरिएको जिल्ला सामुदायी आँखा केन्द्र ओखलढुङ्गाकी प्रमुख राईले जानकारी दिईन् ।