नेपाली समय Loading...२०८२ जेष्ठ ८ बुधबार

मानेभन्ज्याङमा गुडिरहेको गाडीबाट खसेर एक बालक घाइते 

ओखलढुङ्गान्युज, जेठ ६ ओखलढुङ्गा । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा गुडिरहेको गाडीबाट खसेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा मानेभन्ज्याङ गाउँपालिकाको भगवती मावि मानेभन्ज्याङ कक्षा ७ मा अध्ययनरत लीला सार्कीको १३ वर्षीय छोरा सबिन सार्की रहेका छन् ।

बालक सबिन स्कुल छुट्टी भएपश्चात ओखलढुङ्गाबाट हिलेपानी तर्फ जाँदै गरेको सुमोको पछाडि चढेका थिए । सुमो गुडिरहेको अवस्थामा बालक सबिन मानेभन्ज्याङ गाउँपालिका वडा नं ५ को जेरुङ डाँडा भन्ने ठाउँमा सडकमा नै पछारिन पुगेका थिए । बालकको टाउकोमा चोट लागेको छ । बालक घाइते भएको अवस्थामा स्थानीयले फेलापारेपछि बालकलाई उद्धार गरी प्रहरी चौकी मानेभन्ज्याङसँग समन्वय गरी उपचारका लागि सामुदायिक अस्पताल मिसन सोब्रुमा ल्याइएको छ ।

बालक कुन गाडीमा चढेका थिए र कसरी झरे केही खुल्न सकेको छैन । बालकले भने आफू चढेको सुमो सेतो कलरको रहेको बताएका छन् । घटनामा संलग्न रहेको सुमो फरार रहेको छ । बालक सबिन चढेको गाडीको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।