नौ महिनामा ओखलढुङ्गाबाट विदेशीए झण्डै ४ हजार
ओखलढुङ्गान्युज, जेठ ६ ओखलढुङ्गा । नौ महिना अर्थात चैत्र मसान्त सम्म ओखलढुङ्गाबाट झण्डै ४ हजार नागरिकले विदेश जाने अनुमती पत्र (पासपोर्ट) बनाएका छन् । आर्थिक वर्ष २०८१/८२ को नौ महिना अर्थात चैत्र मसान्त सम्म ३ हजार ९ सय १० जनाले विदेश जाने अनुमती पत्र (पासपोर्ट) बनाएका हुन् ।
सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको सुरक्षित आप्रबासन (सामी) कार्यक्रम अन्तर्गत आज ओखलढुङ्गामा पत्रकारहरुसँग आयोजित एक अन्तरक्रिया कार्यक्रम उक्त जानकारी गराईएको हो । बैदेशीक रोजगारीमा जानका लागि पासपोर्ट बनाउनेहरुमा ८७ प्रतिशत पुरुष तथा १३ प्रतिशत महिला रहेका छन् ।
कार्यक्रममा सहभागीहरुले कतिले पासपोर्ट बनाएर बाहिरीए मात्र भन्नु भन्दा पनि कति रेमिट्यान्स भित्रियो, त्यो के मा खर्च भैरहेको छ ? स्वदेश फर्किएपछि उनीहरुको अबस्था के छ ? उनीहरुमा के कस्तो शीप छ ? उनीहरुलाई कसरी स्वदेशमा नै रोजगारी प्रदान गराउन सकिन्छ ? उनीहरुको अनुभवलाई कसरी अन्य युवा समक्ष पुर्याउन सकिन्छ भन्ने विषयमा सम्बन्धित स्थानीय सरकारले नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कोशी प्रदेश कार्यक्रम अधिकृत रोहित विश्वकर्माले कोशी प्रदेशका १४ जिल्ला तथा ओखलढुङ्गाबाट बैदेशीक रोजगारीमा जानेको संख्या तथा उनीहरुको अबस्थाका बारेमा प्रस्तुती गरेका थिए । विश्वकर्माले ओखलढुङ्गाबाट बैदेशिक रोजगारीमा गएका मध्ये हालसम्म २० जनाको मृत्यु भएको तथा १० जना पूर्ण रुपमा अंगभंगभएको अबस्थामा जिल्लामा फर्किको तथ्यांक प्रस्तुत गरेका थिए । उनले कोशी प्रदेशका ४८ स्थानीय तहमा यस कार्यक्रम लागू भएको र आर्थिक वर्ष २०८२/८३ मा ६२ स्थानीय तहमा तथा यहि आर्थिक वर्षमा थप २७ स्थानीय तहमा यस कार्यक्रम लागू गर्ने तयारी रहेको समेत बताए ।
कार्यक्रममा कार्यक्रम अधिकृत विश्वकर्माले बैदेशिक रोजगारमा गएका विवाहित महिलाका श्रीमान् मध्ये ३४ प्रतिशत पुरुषले दोश्रो विवाह गरेको तथ्यांक समेत प्रस्तुत गरेका थिए । त्यस्तै श्रीमान् विदेश भएका महिला मध्ये ४ प्रतिशत महिलाले मात्र दोश्रो विहे गरेको समेत उनले तथ्यांक पेश गरेका थिए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेले हाल सम्म नेपाल सरकारले ११० राष्ट्रमा मात्र नेपालीलाई बैदेशिक रोजगारीमा जान अनुमती दिएको बताए । रोजगार खोज्न छोरा शहरमा भौतारिदै गर्दा गाउँमा बाबुले भने खेतीपाती गर्न श्रमीक खोजिरहेको अबस्था हाम्रो समाजमा रहेको समेत न्यौपानेले बताए । पछिल्लो समय विभिन्न बहानामा विदेशीनेको क्रममा भयावह रहेकोले त्यसलाई स्वेच्छिक बनाउने तर्फ सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा उनले जोड दिएका थिए ।
सामी परियोजनाको यो चौंथो चरणमा नेपाल सरकारको ७० प्रतिशत तथा स्वीस सरकार विकास सहयोग नियोगको ३० प्रतिशतको साझेदारीमा कार्यक्रम सञ्चालन भैरहेको छ । चौंथो चरण सकिएसँगै कार्यक्रममा सबै लगानी नेपाल सरकारले गरेर सञ्चालन गर्ने तयारी गरेको छ ।