नेपाली समय Loading...२०८२ जेष्ठ ५ आईतवार

पर्यटन विकास गर्नेभए कनिका छराई लगानी वन्द गरौं – सरोकारवाला

शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरु

ओखलढुङ्गान्युज, जेठ ४ ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा पर्यटनको विकास गर्ने भए सरकारबाट हुने कनिका छराईको लगानी वन्द हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । शनिवार जिल्ला सदरमुकामको जिल्ला समन्वय समितिको सभाहलमा कोशी पर्यटन विकास कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरुले पर्यटन विकासको नाममा संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले लगानी गरेपनि सानो सानो रकम लगानी गर्दा पर्यटन विकासका लागि भौतिक पूर्वाधारको काम समेत पूर्ण रुपमा सम्पन्न हुन नसकेको बताएका छन् । सरकारले लगानी चाहि गर्ने तर पूर्ण रुपमा काम सम्पन्नका लागि भने बजेट नपुग्ने हुँदा भैरहेको प्राकृतिक स्वरुपलाई समेत कुरुप बनाएको बताएका छन् ।

जिल्लामा विभिन्न स्थानमा पर्यटन प्रबर्धनको प्रचुर सम्भावनालाई कायम गर्दै तिनै तहका सरकारले लगानी गरेपनि उपलब्धी भने हासिल हुन नसकेको सहभागीहरुको तर्क छ । पर्यटकलाई आकर्षण गराउनका लागि जिल्लामा रहेको प्रत्येक स्थानीय तहले कम्तीमा एउटा पर्यटकिय स्थलको पूर्ण रुपमा लगानीका साथ विकास गरेर आसपासमा रहेका पर्यटकिय स्थलसँग जोड्न सक्ने खालको कार्यक्रम तथा योजना निर्माणमा ध्यान दिनुपर्ने बताए ।

शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरु

पर्यटकिय स्थलको विकासमा लगानी भएपनि त्यसको संरक्षण तथा भ्रमणमा आउने पर्यटकको आशा र अपेक्षाको विषयमा ध्यान नपुग्दा ती स्थानमा गरिएको लगानीबाट प्रतिफल नआएको उनीहरुको तर्क छ । पर्यटन स्थलको विकासको नाममा रड, सिमेन्ट र बालुवाको कंक्रिट मात्रै थुपारेर नहुने भन्दै स्थानीय संस्कार, संस्कृति र कलालाई पनि समेट्नु पर्ने सहभागीको तर्क छ । प्राकृतिक कुराहरुलाई सामान्य रुपमा तर भिन्दै तरिकाले प्रस्तुत गर्न सके पर्यटकलाई आकर्षित गर्न अन्य केही गर्नु नपर्ने समेत सहभागीले बताए ।

कार्यक्रममा सहभागीले पर्यटन विकासका लागि स्थानीय उत्पादनको ब्राण्डिङ, पर्यटन सूचना केन्द्र, पर्यटकिय स्थलको प्रचारप्रसारको लागि सामाजिक सञ्जालको सदुपयोग गराउने कुरामा पर्यटन विकास कार्यालयले ध्यान दिनुपर्ने बताएका थिए । पर्यटन विकास सम्बन्धि नीति तथा गुरु योजना निर्माण गर्न नसके पर्यटन विकासको लागि गरिएको लगानी बालुवामा पानी सरह हुने भएकोले पर्यटन कार्यालयले त्यस सम्बन्धमा समेत ध्यान दिनुपर्ने सहभागीहरुले बताएका छन् ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । सोहि कार्यक्रम अन्तर्गत ओखलढुङ्गा जिल्लामा पनि पर्यटकको रोजाईमा पर्न सक्ने स्थानहरुको पहिचान र प्रबर्धन गर्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कोशी प्रदेश पर्यटन कार्यालय धरानका प्रमुख भिषण राईले जानकारी दिए । कार्यालय प्रमुख राईको नेतृत्वमा रहेको टोलीले शुक्रबार सोलुखुम्बुमा, शनिवार ओखलढुङ्गामा तथा आईतबार खोटाङ जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।