नेपाली समय Loading...२०८२ जेष्ठ ५ आईतवार

सिद्धिचरण मेयरकप फुटबलको उपाधी एमएससीलाइ

ओखलढुङ्गान्युज, जेठ ४ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको मेयरकप प्रथम खुला पुरुष फुटबल प्रतियोगिता २०८२ को उपाधी मानेभञ्ज्याङ स्पोर्ट्स क्लब (एमएससी) ले जितेको छ । उपाधि जितेसँगै एमएससीले नगद रु २ लाख २२ हजार २ सय २२ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिवार सम्पन्न भएको फाइनल खेलमा असिने नारायणस्थान फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै एमएससीले उपाधी जितेको हो । एमएससीसँग पराजित भएको असिने नारायणस्थान फुटबल क्लबले भने उपविजेतामै चित्त बुझाइएको छ । उपविजेता हुदै असिने नारायणस्थान फुटबल क्लबले नगद रु १ लाख ११ हजार १ सय ११ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बैशाख ३० गतेदेखि सुरु भएको सिद्धिचरण नगरपालिका मेयरकप प्रथम खुला पुरुष फुटबल प्रतियोगिता २०८२ मा मानेभञ्ज्याङ गाँउपालिकाको टीम र नेपाली सेनाको दुर्गाबक्स गण ओखलढुङ्गा भने सेमिफाइनलिष्ट बनेका छन् । सेमिफाइनलिष्ट दुवै टिमले नगद रु ४४ हजार ४ सय ४४ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा मानेभन्ज्याङ गाउँपालिका टिम मानेभञ्ज्याङ कै एमएससी सँग र दुर्गाबक्स गण भने असिने नारायणस्थान फुटबल क्लबसँग पराजित भएको थियो ।

विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पुर्व मन्त्रि तथा ओखलढुङ्गा जिल्लाका प्रदेश सांसद प्रदिप कुमार सुनुवार, जिल्ला समन्वय समिती सभापति टेकराज भट्टराई, सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, मानेभञ्ज्याङ गाँउपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राइ लगायत अतिथिहरुले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उच्च गोल स्कोररले जनही ५ हजारका साथमा ट्रफि पाएका छन् । प्रतियोगितामा छिमेकी जिल्ला सोलुखुम्बुको एक, नेपाली सेनाको दुर्गा बक्स गण र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टीम समेत गरि १० टीमले सहभागिता जनाएका थिए ।