सिद्धिचरण मेयरकप : आज सेमिफाइनल खेल हुँदै
ओखलढुङ्गान्युज, जेठ २ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको सिद्धिचरण मेयरकप प्रथम खुला पुरुष फुटबल प्रतियोगिता २०८२ को क्वाटर फाइनलका खेलहरु सकिएका छन् । बिहीबार क्वाटर फाइनल खेल सकिए सँगसँगै आज शुक्रबार सेमिफाइनलका खेलहरू हुनेछन् ।
आज शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा नेपाली सेनाको दुर्गाबक्स गण ओखलढुङ्गा र अधेरी नारायणस्थान फुटबल क्लब भिड्ने छन् । दुर्गा बक्स गणले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई बुधबार भएको खेलमा ४-२ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै बिहीबार भएको खेलमा अधेरी नारायणस्थान फुटबल क्लबले खिस्तो युवा समाज मोलुङ २ लाई १०-१ गोलले पराजित गर्दै सेमीफाइनलको यात्रामा आर्मीसँगको भेट पक्का गरेको हो ।
बिहिबार सम्पन्न भएको खेलमा अधेरी नारायणस्थानका जर्सी नम्बर २९ का खेलाडी चन्द्रसुन्दर श्रेष्ठले मोलुङको विरुद्धमा एक्लै पाँच गोल गरेका थिए । जर्सी नम्बर ६ का करण खड्काले पनि तीन गोलको ह्याट्रिक पुरा गरेका थिए ।
त्यस्तै विहिबार सम्पन्न अर्को खेलमा मानेभन्ज्याङ गाउँपालिकाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १२ लाई ३-० गोलले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । यसअघि बुधबार भएको खेलमा मानेभन्ज्याङ स्पोर्ट्स क्लबले ग्लुब्जी सोब्रुलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरिसकेको छ । मानेभन्ज्याङ स्पोर्ट्स क्लबले ग्लुब्जी सोब्रुलाई २-० को स्कोरमा पराजित गर्दै सेमीफाइनलमा मानेभन्ज्याङ गाउँपालिकासँगको भेटलाई पक्का गरेको हो ।
आज शुक्रबार पहिलो खेल नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुङ्गा भर्सेस अँधेरी नारायणस्थान फुटबल क्लबका बीच मध्यान्ह १२:३० बजे हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल अपरान्ह ३ बजे मानेभन्ज्याङ गाउँपालिका भर्सेस मानेभन्ज्याङ स्पोर्ट्स क्लबका बीच हुनेछ । फाइनल खेल भने जेठ ३ गते हुनेछ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद रु २ लाख २२ हजार २२२ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेता हुने टिमले पनि नगद रु १ लाख ११ हजार १११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमीफाइनलमा पुग्ने सफल दुवै टिमले क्रमशः नगद रु ४४ हजार ४४४ का साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद र ट्रफी प्रदान गरिने सिद्धिचरण नगरपालिका वडा नं १२ का वडा अध्यक्ष उमंग श्रेष्ठले जानकारी दिए ।