ओखलढुङ्गामा बढी बेरुजु गर्ने पहिलो पालिका चम्पादेवी दोश्रो लिखु
ओखलढुङ्गान्युज, जेठ १ ओखलढुङ्गा । महालेखा परीक्षकको कार्यालयले बुधबार आफ्नो ६२ औं प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । बुधबार बुझाएको प्रतिवेदन अनुसार ओखलढुङ्गा जिल्लाका ८ स्थानीय तहहरु मध्ये सबैभन्दा बढी बेरुजु चम्पादेवी गाउँपालिकाको देखिएको छ भने सबैभन्दा कम भने मोलुङ गाउँपालिकाको देखिएको छ ।
बुधबार बुझाईएको प्रतिवेदन अनुसार ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ मा (महालेखा परीक्षकको कार्यालयको रिपोर्ट अनुसार) कूल बजेटको ५.७७ प्रतिशत बेरुजु देखिएको छ । बढी बेरुजु देखिने ओखलढुङ्गाको दोश्रो गाउँपालिका लिखु गाउँपालिका बनेको छ । लिखुको आर्थिक वर्ष २०८०/८१ मा कूल बजेटको ३.७४ प्रतिशत रकम बेरुजु देखिएको छ ।
ओखलढुङ्गामा बढी बेरुजु गर्ने गाउँपलिकाको सूचिको तेश्रो नम्बरमा मानेभञ्ज्याङ्ग गाउँपालिका रहेको छ । मानेभञ्ज्याङ्गको पनि बेरुजु २.०७ प्रतिशत रहेको छ । त्यस्तै चौथोमा खिजिदेम्बा गाँउपालिका (२ प्रतिशत), पाचौंमा चिशंखुगढी गाउँपालिका (१.८७ प्रतिशत), छैठौंमा सुनकोशी गाउँपालिका (१.८६ प्रतिशत) र सातौंमा सिद्धिचरण नगरपालिका (१.२६ प्रतिशत) रहेको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार ओखलढुङ्गाका ८ स्थानीय तह मध्ये यस पटक कम बेरुजु भने मोलुङ गाँउपलिकाको रहेको छ । प्रतिवेदन आुसार मोलुङको १.१० प्रतिशत बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षक सम्पन्न गरिसके पनि कार्यालयले सम्परिक्षणका लागि सबै कार्यालयलाई प्रारम्भिक प्रतिवेदन दिएको थिए । सम्परीक्षण पश्चात प्राप्त प्रतिवेदनलाई कार्यालयले अन्तिम प्रतिवेदन तयार गरि बुधबार राष्ट्रपति समक्ष अन्तिम प्रतिवेदन बुझाएको हो ।