नेपाली समय Loading...२०८२ बैशाख २९ सोमबार

मोलुङमा पराल तथा खोसेलोबाट जुत्ता चप्पल बनाउने तालिम सम्पन्न

ओखलढुङ्गान्युज, बैशाख २९ प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिकामा पराल तथा खोसेलोबाट जुत्ता चप्पल बनाउने तालिम सम्पन्न भएको छ । उक्त तालिमको शनिवार एक कार्यक्रमका बीच मोलुङ गाउँपालिकाका उपाध्यक्ष उर्मीला खतिवडाले समापन गरेकी हुन् ।

अपाङ्गता भएकाका परिवारलाई लक्षित गरेर गत वैशाख २३ गतेदेखि सुरु भएको शनिवार सम्पन्न भएको मोलुङ गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन कुमारी बस्नेतले जानकारी दिईन् । तालिममा अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारका सदस्य गरि ८ जनाले सहभागिता जनाएका थिए । केहिदिन अगाडी मात्रै मोलुङमा नै अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारका सदस्यलाई लक्षित गरेर आलुको चिप्स बनाउने तालिमको समापन गरिएको थियो ।

तालिम अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत मोलुङ गाउँपालिकाको आयोजना, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र करुणा फाउन्डेसन नेपालको सहकार्यमा गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको हो । तालिममा सहभागी भएकाहरुले उत्पादन गरेको सामाग्रीको आफूले बजारको ब्यबस्थापन गरिदिने जिम्मा तालिमका प्रशिक्षक मञ्जु थापाले लिएको महिला तथा बालबालिका शाखा प्रमुख बस्नेतले जानकारी दिईन् ।

तालिमको समापन सत्रमा मोलुङ गाउँपालिकाका उपाध्यक्ष एवम् गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिका संयोजक उर्मीला खतिवडा, मोलुङ गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा आचार्य लगायत अतिथिहरुले सहभागी तथा प्रशिक्षकलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरेका थिए ।