नेपाली समय Loading...२०८२ बैशाख २७ शनिबार

निर्माण सम्पन्न हुन लागेको मन्थलीको पक्की पुल भाँचियो

ओखलढुङ्गान्युज, बैशाख २७ रामेछाप । निर्माण कार्यको करीब अन्तिम चरणमा रहेको रामेछाप जिल्लाको जिल्ला सदरमुकाम मन्थली नगरपालिकाको तामाकोशी नदी माथिको पक्की पुल भाँचिएको छ । निर्माणको करिब अन्तिम चरणमा उक्त पक्की पुल शुक्रबार दिउँसो भाँचिएको हो ।

मन्थली नगरपालिकाको वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी माथि निर्माण कार्यको अन्तिम चरणमा रहेको ठेडिखोला पुल भाँचिएको हो । ४ वटा स्पान रहेको उक्त पुलको लम्बाई कूल २ सय ३० मिटर र चौडाई ११ मिटर रहेको छ । यसै आर्थिक वर्षको अन्तिम सम्म निर्माण कार्य सकाउने गरि छेउछेउको दुईवटा स्पान पहिले नै निर्माण भएको थियो भने बिचको स्पानमा भने केहि दिन अगाडी मात्र ढलान गरिएको थियो । अचानक शुक्रबार दिउसो बिचको ढलान भाँचिएपछि पुलमा गुणस्तरीय सामाग्री प्रयोगको विषयमा नागरिकले प्रश्न गरेका छन् भने पुल निर्माण कार्यमा अन्यौलता छाएको छ ।

पुल भाँचिएपछि निर्माणको क्रममा नै गुणस्तरहिन सामाग्री प्रयोग गरेका कारण पुल भाँचिएको नागरिकहरुले आरोप लगाएका छन् । पुल भाँचिनुको कारण भने खुलेको छैन । पुलको बीचमा रहेको रडलाई मेसिनले तान्ने क्रममा पुल भाँचिएको हुन सक्ने आशंका भने गरिएको छ । निर्माण कम्पनीले भने तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने जनाएको  छ ।

पुल भाँचिएको विषयमा रामेछाप जिल्लाबाट निर्वाचित भएका बागमती प्रदेश सभाका सदस्य माननिय तारानारायण श्रेष्ठले पनि अहिले आफू जिल्लामा नभएको र पुल भाँचिएको जानकारी आफूले पनि पाएको बताए । पुलमा गुणस्तरहिन सामाग्री प्रयोगका कारण निर्माणको क्रममा नै पुल भाँचिएको हुनसक्ने भन्दै भाँचिएको पुलको विषयमा विशेष चासोका साथ आफूले हेरिरहेको बताए । पुल भाँचिएको विषयमा प्राविधिक परीक्षण नभई केहि भन्न नसकिने समेत सांसद श्रेष्ठले बताए ।

उक्त पुल निर्माणका लागि कालिका–कल्पवृक्ष जेभिले २०७८ सालमा ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैँयामा ठेक्का सम्झौता भएको थियो । यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो ।