तेश्रो चिशंङखुगढी कप भलिबलको उपाधि पाँचखपनलाई
ओखलढुङ्गान्युज, बैशाख १९ भदौरे । जिल्लाको चिशंङखुगढी गाउँपालिकाले आयोजना गरेको तेश्रो चिशंङखुगढी कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पाँचखपन नगरपालिका सङ्खुवासभाले जितेको छ । आज भएको फाइनल खेलमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकालाई पराजित गर्दै पाँचखपनले उपाधी जितेको हो ।
आज भएको फाइनल खेलमा मोलुङलाइ २५-१८, २५-१९ र २५-१७ को सेटमा पराजित गर्दै पाँचखपनले नगद रु २ लाख २२ हजार २२२ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता बनेको मोलुङ गाउँपालिकाले पनि नगद रु १ लाख ५५ हजार ५५५ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै हिजो शुक्रवार तेश्रो स्थानका लागि सम्पन्न भएको खेलमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले खोटाङको रावाबेशी गाँउपालिकालाई पराजित गर्दै तेश्रो बनेको छ । तेश्रो बनेको चम्पादेवी गाउँपालिकाले नगद रु १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै रावाबेशी गाँउपालिकाले पनि सान्त्वना स्थान हासिल गर्दै नगद रु ५५ हजार ५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पाँचखपन नगरपालिकाका रोमन बस्नेत सर्वोत्कृष्ट खेलाडी, पाँचखपन नगरपालिकाका विष्णु बस्नेत उत्कृष्ट ओपन स्पाइकर, मोलुङ गाउँपालिकाका समीप श्रेष्ठ उत्कृष्ट सर्भर, मोलुङ गाउँपालिकाका अर्जुन कटवाल उत्कृष्ट ब्लकर, पाँचखपन नगरपालिकाका मनोज घिमिरे उत्कृष्ट सेटर, पाँचखपन नगरपालिकाका सन्तोष राई उत्कृष्ट लिबेरो, पाँचखपन नगरपालिकाका निरुप बस्नेत उत्कृष्ट क्विक स्पाइकर र चम्पादेवी गाउँपालिकाका अनिल श्रेष्ठ अनुशासित खेलाडी बन्न सफल भए ।

विजेता पाँचखपन नगरपालिका संखुवासभा
विधागत तर्फ सर्वोत्कृष्ट बन्न सफल खेलाडीलाई नगद रु ११ हजार १११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई नगद रु ५ हजार ५ सय ५५ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेताहरूलाई चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, उपाध्यक्ष सन्तोष बाबु थापा प्रमुख प्रशासकीय अधिकृत सीताराम राई तथा वडा अध्यक्षहरु लगायत अतिथिहरुले नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।