सरकारी निशुल्क औषधि बेच्ने पद्मा मेडिकल सहित दुइ मेडिकलमा सिल

औषधि ब्यबस्था विभाग विराटनगरले सिल गरेको पद्मा मेडिकल रुम्जाटार
ओखलढुङ्गान्युज, बैशाख १६ ओखलढुङ्गा । औषधि ब्यबस्था विभाग विराटनगरको टोलीले नेपाल सरकारले प्रदान गरेको निशुल्क औषधि बिक्री गर्ने पद्मा मेडिकल सहित ओखलढुङ्गाका दुइ मेडिकलमा सिल गरेको छ । रुम्जाटारको पद्मा मेडिकल सहित जिल्ला सदरमुकाममा रहेको श्रेष्ठ मेडिकलमा विभागले सिल गरेको हो ।
शोमबार र मंगलबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको उपस्थितिमा औषधि ब्यबस्था विभागबाट आएको टोलीले जिल्लाको जिल्ला सदरमुकाम ओखलढुङ्गा बजार, रुम्जाटार बजार तथा रामपुर बजारमा रहेको मेडिकलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा रुम्जाटारको पद्मा मेडिकलले नेपाल सरकारबाट निःशुल्क वितरणका लागि पठाइएको विभिन्न प्रकारका औषधि बिक्री गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौड्याल)ले जानकारी दिइन् । पद्मा मेडिकल जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका निमित्त प्रमुख अहमद मनसुरको निजी मेडिकल हो ।
त्यस्तै जिल्ला सदरमुकाममा रहेको श्रेष्ठ मेडिकलले नेपाल सरकारले प्रतिबन्ध गरेको एक प्रकारको प्रतिबन्धित औषधी तथा भेटेरिनरी औषधि बिक्री गरिरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिइन् । के कति मात्रामा सामाग्री जफत गरियो भन्ने बारेमा भने केहि खुलेको छैन ।
निःशुल्क सरकारी औषधि बिक्री गरिरहेको पाइएकोले पद्मा मेडिकल र प्रतिबन्धित औषधी तथा भेटेरिनरी औषधि बिक्री गरिरहेकोले श्रेष्ठ मेडिकलमा सिल गरेर औषधि बिक्रीका लागि प्रदान गरिएको प्रमाणपत्र जफत गरिएको छ । प्रमाणपत्र जफत तथा पसल सिल गरेर सात दिन भित्र स्पष्टिकरण पेश गर्न विराटनगर आउन औषधि व्यवस्था विभागले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिइन् ।
मेडिकल अनुगमनको लागि आफुहरुसँग अधिकार नभएपनि निरन्तर नागरिकको गुनासो आएपछि औषधि ब्यबस्था विभागसँग समन्वय गरेर जिल्लामा रहेका मेडिकलको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए । अनुगमनको क्रममा फेला परेका तथ्यहरुले पनि मेडिकल सन्चालकहरुले नागरिकको स्वास्थ्यमा कति लापरबाही गर्छन् भन्ने छर्लङ्ग भएको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाइ छ ।
यसभन्दा अगाडि पनि औषधि व्यवस्था विभागले ओखलढुङ्गाको मेडिकल पसलमा अनुगमन गरि पसल सिल गरेको थियो । सिल गरेको मेडिकलमा थप अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भैरहेको बेला औषधि ब्यबस्था विभागले ओखलढुङ्गामा पुन अनुगमन गरेको हो ।