आजबाट चिशङ्खुगढी कप भलिबलको उद्घाटन हुँदै, विजेताले पाउनेछन् २,२२,२२२
ओखलढुङ्गान्युज, बैशाख १६ भदौरे । आजबाट चिशङ्खुगढीको भदौरेमा तेस्रो चिशङ्खुगढी कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । चिशङ्खुगढी गाँउ पालिकाको वडा नं. ६ भदौरेमा चिशङ्खुगढी कप तेश्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको लागी सम्पुर्ण तयारी पुरा भएको गाँउ पालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । विगत दुइ संस्करणको तुलनामा तेश्रो संस्करणमा भने प्रतियोगिता केहि परिमार्जन गरिएको छ । अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको यो तेश्रो संस्करणमा भने आफ्नोे पालिकाका भन्दा बाहिरका दुइजना खेलाडी समावेश गर्न सकिने गरि नियम परिमार्जन गरिएको छ ।
प्रत्येक गाँउपालिकामा उत्कृष्ट खेलाडीको टीम हुँदै गर्दा पनि १/२ खेलाडीको अभावमा टीमले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको अबस्थामा दुइजना खेलाडी थप गर्दा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्नेछन् भन्ने उद्देश्यले खेलको नियम परिमार्जन गरिएको अध्यक्ष शर्माले बताए ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद रु २,२२,२२२, द्वितीय हुने टीमले नगद रु १,५५,५५५, तृतीय हुने टीमले नगद रु. १,११,१११ तथा सान्त्वना हुनेले नगद रु ५५,५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु ११,१११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने प्रत्येक खेलाडीले नगद रु ५,५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।