राष्ट्रिय फोटो पत्रकार समूहको स्थापना दिवसमा विभिन्न पत्रकारले पाए अवार्ड
ओखलढुङ्गान्युज, बैशाख १४ काठमाण्डौं । ‘ग्लोबल आईएमई बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड २०२५’ बाट अनलाइनखबरका फोटो पत्रकार चन्द्रबहादुर सम्मानित भएका छन् । शनिबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७औं स्थापना दिवसको अवसरमा आयोजित समारोह तथा पाँचौ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ मा आलेलाई उक्त सम्मान प्रदान गरिएको हो ।
आफ्नो स्थापना दिवसको अबसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह नेपालले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई समेत सम्मान गरेको छ । समारोहमा ‘नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड’ नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले, ‘पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड’ गोरखापत्र दैनिककी कविता थापाले प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्णपोस्ट डटकमका अभिषेक महर्जनलाई, एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाहीलाई, सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमलनई, डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्त सिंह क्षेत्रीलाई तथा कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका फोटो पत्रकार राजिब हेन्गाजुलाई प्रदान गरिएको थियो ।
फोटो पत्रकारीता अवार्ड पाउने फोटो पत्रकारहरूलाई सभामुख देवराज घिमिरे र ऊर्जामन्त्रीले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रदेश स्तरीय फोटो पत्रकारहरुलाई समेत अवार्ड प्रदान गरिएको थियो ।