नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

अन्ततः कक्षा १२ को परीक्षा स्थगित

ओखलढुङ्गान्युज, बैशाख ९, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले अन्ततः बैशाख ११ गते देखि गर्ने भनेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ । मंगलबार विहान बसेको परीक्षा बोर्डको बैठकमा भने निजामती कर्मचारीको सहभागितामा भएपनि परीक्षा नरोक्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका दिएका थिए । 

फायल तस्वीर

प्रधानमन्त्री ओलीको निर्देशन सँगै सबै जिल्ला परीक्षा समिति मार्फत परीक्षा सन्चालन गर्ने तयारी परिक्षा बोर्डले गरेको थियो । शिक्षकको आन्दोलनलाई पेलेर जाने प्रधानमन्त्री ओलीले रणनीति बनाएपछि शिक्षक महासंघले देशभरका सबै विद्यालयका बालशिक्षा सहयोगी कार्यकर्ता तथा कर्मचारीलाइ २४ घण्टा भित्र काठमाडौंको आन्दोलनमा सहभागी हुन आउन ह्विप जारी गरेको थियो । उता कर्मचारी युनियनले पनि शिक्षक विना कक्षा १२ को परीक्षामा सहभागी हुन नसक्ने बताएको थियो ।

माहौल तात्दैजाँदा विद्यालयमा सहयोगी कर्मचारी समेत आन्दोलनमा सहभागी भएको अबस्थामा परीक्षामा समस्या हुने भन्दै मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीको नयाँ निर्देशनसँगै कक्षा १२ को परीक्षा सरेको हो ।

प्रधानमन्त्री ओलीको निर्देशन सँगै कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । सोही अनुसार परीक्षा बोर्डले परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । 

अब परीक्षा यही वैशाख २१ गते देखि सञ्चालन हुँनेछ । झण्डै २० दिनदेखि जारी शिक्षकको आन्दोलनका कारण परीक्षा सरेको हो ।