लिखुका विभिन्न वडामा पाठेघरको क्यान्सरको स्क्रिनिङ क्याम्प हुँदै
ओखलढुङ्गान्युज, बैशाख ८ यसम । जिल्लाको लिखु गाउँपालिकाका विभिन्न वडाहरुमा आईतबारबाट महिला लक्षित स्वास्थ्य शिबिर सञ्चालन सुरु भएको छ । विशेषगरि महिलाहरुलाई लक्षित गरेर पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ शिबिर सुरु भएको हो ।
लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रममा समाबेश गरेर विनियोजन गरिएको बजेटले आईतबारबाट लिखु गाउँपालिकाका नौ वटै वडाहरुमा स्क्रिनिङ शिविर सञ्चालन हुँदैछ । स्क्रिनिङ शिबिर पहिलो दिन लिखु गाँउपालिकाका वडा नं. ९ पोकलीबाट सुरु भएको छ । क्रमशः बैशाख १९ गते सम्म गाँउपालिकाका सबै वडाहरुमा स्क्रिनिङ शिबिर सञ्चालन हुने लिखु गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पहिलो दिन सञ्चालन गरिएको स्क्रिनिङ शिबिरमा पोकलीका ३० वर्ष माथिका ७० जना महिलाहरुले सेवा लिएका छन् । शोमबार दोश्रो दिन लिखु गाउँपालिकाको वडा नं. ८ टारकेराबारीमा स्क्रिनिङ शिविर सञ्चालन हुनेछ । त्यस्तै ९ र १० गते गाम्नाङटार, १४ र १५ गते सिंहदेवी, १६ गते नर्मदेश्वर तथा १७ र १९ गते यसममा सञ्चालन हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा लिखु गाँउपालिकाका सबै वडामा स्क्रिनिङ शिबिर सञ्चालनका लागि मात्रै भनेर बजेट विनियोजन भएको छ । यस पटकको कार्यक्रम बजेट कम भएका कारण यस पटक स्क्रिनिङ शिबिर सञ्चालन गरेर क्यान्सरको सम्भावना देखिएका महिलाहरुलाई उपचार गर्न सिफारिस गर्ने तथा जनचेतना फैलाउने उद्धेश्य मात्र रहेको गाँउपालिका उपाध्यक्ष अस्मिता थापाले बताईन् । जटिल समस्या भएका महिलाहरु धेरै देखिएमा आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गरेर अप्रेशन शिबिर समेत सञ्चालन गर्ने उपाध्यक्ष थापाले बताईन् ।