ठाडेमा अस्थाई प्रहरी पोष्टको नयाँ भवन उद्घाटन
ओखलढुङ्गान्युज, बैशाख ७ ठाडे । जिल्लाको सिद्धिचरण नगरपालिकाको ठाडे भन्ने स्थानमा निर्माण कार्य सम्पन्न भएको अस्थाई प्रहरी पोष्ट भवनको आज एक कार्यक्रमका विच समुद्घाटन गरिएको छ । नवनिर्मित अस्थाई प्रहरी पोष्ट भवनको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले समुद्घाटन गरेका हुन् ।
सिद्धिचरण नगरपालिका वडा नं. ६ ठाडे जन्तरखानीमा रहेको अस्थाई प्रहरी पोष्टको उक्त भवन सिद्धिचरण नगरपालिकाको १३ लाख ५० हजारको लगानीमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवन ढुङ्गामाटाको गा¥हो र टिनको छानो भएको एकतले चारकोठाको रहेको छ । सोलुखुम्बु जिल्ला र ओखलढुङ्गा जिल्लाको सिमा प्रहरीको रुपमा समेत यो अस्थाई प्रहरी पोष्ट रहेको छ । चिसो मौसममा हिउँपर्दा समेत टिनले बारेको र टिनको छानोमुनी बसेर सेवा दिदै आएको अस्थाई प्रहरी पोष्टका प्रहरी कर्मचारीहरुलाई नयाँ भवन निर्माणसँगै हस्तान्तरण भएपछि सेवा प्रवाहमा सहज हुनेछ ।
नयाँ अस्थाई प्रहरी पोष्ट भवनको उद्घाटन कार्यक्रममा ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्का, जिल्लामा रहेका विभिन्न राजनितिक दलका प्रतिनिधीहरु समेत सहभागी रहेका थिए ।